नेकपा एमालेको मालिका गाउँपालिका वडा नं २ रुममा शनिबार चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (ख)का उम्मेदवारसहित एमालेको एक टोलीले रुमको विलबाङ, जेम र बेलीको टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरेको हो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार यामबहादुर गर्बुजासहित एमालेका नेता, कार्यकर्ताको टोलीले घरदैलो कार्यक्रम गरेर मतदाता भेटघाट गरेको एमाले म्याग्दीले जनाएको छ ।

घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटको क्रममा एमालेका प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले रुमको विपद्मा परेकालाई भेट्न र राहत वितरण सहितका कार्यक्रमहरुमा प्रत्यक्ष आएको बताउनुभयो ।

उहाँले आफुँले दुख सुखमा साथ दिने समेत प्रतिबद्धता जनाउनुभएको थियो । संविधानमा भएका व्यवस्थाको कार्यान्वयन तथा जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र जनताको आधारभूत आवश्यकता पुरा गर्न आफू उम्मेदवार बनेको बताउनुभयो ।

यसअघि एमाले नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरी नेपाललाई समुन्द्रसँग जोडेको, नेपालको गुमेको भू–भाग नक्सामा समावेश गरी नयाँ चुच्चे नक्सा जारी गरेको सडक, विद्युत, अस्पताल, विद्यालयलगायत थुप्रै काम गरेको बताउँदै थप काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा (ख)का उम्मेदवार गर्बुजाले आफुँलाई यस क्षेत्रको समस्या र आवश्यकताका बारेमा धेरै जानकारी रहेको बताउनुभयो । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, निर्वाचन परिचालन टोलीकी संयोजक खरमायाँ विटालु, जिल्ला कमिटी सदस्य इश्वर सुबेदी लगायत स्थानीय नेता एवं कार्यकताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply