राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रका लागि म्याग्दी जिल्लाबासीलाई एकपटक र यसैपटक भन्दै घरदैलो अभियानमा भोट मागेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी शनिबार मंगला गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा प्रतिनिधिसभाका उम्मेदवार जगतप्रसाद गौचनले देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दीले ‘राष्ट्रियता जोखिममा परेकाले राप्रपालाई भोट दिएर देशको रक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले विभिन्न सम्झौतामार्फत नेपालमा विदेशीको चलखेल र प्रवेश भइसकेको बताउँदै अबको निर्वाचनमा राप्रपा बाहेकका अन्य दलहरु विदेशीलाई खुसी बनाउने एजेण्डामा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

चुनावी अभियान अन्तरगत पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवारलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्नुभएको थियो । चुनावी सभामा जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर मत माग्ने गरी राप्रपाका नेताहरु सक्रिय छन् । राप्रपाले निर्वाचन केन्द्रित रहेर अभियान सञ्चालनका लागि प्रतिनिधि समेत खटाईसकेकोे जिल्ला अध्यक्ष बिरबहादुर थापाको भनाई छ । राप्रपाले प्रदेश सभा (क) मा राप्रपाका प्रवीन शाही, प्रदेश सभा (ख)मा राप्रपाका मिठुकुमारी थापालाई उम्मेदवार बनाएको छ ।

 

Leave a Reply