सम्पदा संरक्षणमा कसैको चासो नहुँदा ३०० वर्षभन्दा पुराना देवल नष्ट हुन थालेका छन्।सदरमुकाम बेनी लगायत जिल्लाका ६ वटै स्थानीय तहमा रहेका  पुरातात्त्विक तथा शिखरशैलीका देवल तथा अन्य सम्पदा नष्ट हुन थालेका हुन्।

सदरमुकाम बेनीबजारमा रहेका ३०० वर्षभन्दा पुराना तीन वटा प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय प्रकाश श्रेष्ठले बताए। बेनीमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवलको अस्तित्व हराउन लागेको उनले बताए।वि.सं १७५४ मा तत्कालिन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलमा शिवलिंग, नारायण, गणेश र भगवतीका प्राचीन मूर्ति रहेका छन्।

बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व मेटिन थालेको स्थानीय अविरकुमार श्रेष्ठले बताए। ‘बजार विस्तार हुने क्रमसँगै घर निर्माण हुने क्रम बढेपछि घरले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो’, उनले भने, ‘बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरबारेअहिले धेरैजसो व्यक्तिलाई थाहा नै छैन।’

उनका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिर ओझेलमा परेका हो । २०३४\०३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका ६ मा कालीगण्डकी नदी  र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्वविहीन बनेको छ। पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३÷०६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर पनि अस्तित्व विहीन बनेको छ।

जिल्लाका ताकमकोत,ज्यामरुककोट,घतान,पुलाचौर, राखु भगवती लगायत स्थानमा रहेका कैयौं प्राचिन देवल र सम्पदा नासिदै गएका छन्। यस्ता प्राचीन सम्पदा नासिँदै गए पनि स्थानीय तहले चासो नदेखाएको यहाँका नागरिकको गुनासो छ।

प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियार लगाएत ऐतिहासिक र पुरातात्त्विक महत्वका वस्हतु हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताए। यस्ता पुरातात्विक महत्वका ऐतिहाँसिक वस्तुको संरक्षणमा पुरातत्व विभागको  ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षीय डिलबहादुर कार्कीले बताए। ती ठाउँमा रहेका ढुंगेधारा र कुवा पनि हराउँदै गएको उनले बताए।

बेनी नगरपालिका २ का वडाध्यक्ष यामबहादुर कार्कीले भने स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदाकोसूचीकरण गरी संरक्षण र संवर्धनका लागि पहल शुरु गरेको बताए ।

Leave a Reply