आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लाई लक्षित गरि नेकपा एमाले मंगला गाउँपालिका कमिटिले वडा नम्वर ३ खर्कमा मतदाता भेटघाट तथा घरदैलो गरेको छ ।

खर्कमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज नरदेवी पुनले समृद्ध नेपालको परिकल्पना गरेको नेकपा एमालेलाई भोट दिई संघ तथा प्रदेशमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो ।उहाँले देश र जनताको हितमा काम गर्नलाई मंसिर ४ पछि एमालेको सरकार बन्न आवश्यक हुने बताउँदै परिवर्तनका निम्ती सूर्य चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो ।

मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाले जनताको भावना र मर्म बुझ्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । उहाँले मंगलाको विकासमा एमालेकै स्थानीय सरकारले उल्लेख्य कार्य गरेको भन्दै जिल्लाको विकासका लागि पनि आगामी मंसिर ४ मा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष पेमा अधिकारी, नेकपा एमाले वडा कमिटी अध्यक्ष कुल बहादुर थापा, वडा नम्वर ३ का निवर्तमान अध्यक्ष कविन्द्र रोका लगायतले जनता सामु भोटको अपिल गर्नुभएको थियो । गाउँपालिका कमिटीले आइतवारदेखिनै मंगलाका ५ वटै वडामा पुग्ने गरि घरदैलो तथा मतदाता भेटघाटको अभियान संचालन गरेको जनाएको छ ।

नेकपा एमालेबाट प्रदेशसभा ख तर्फ याम बहादुर गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै प्रदेशसभा क तर्फ देवेन्द्र बहादुर कटुवाल र प्रतिनिधिसभा तर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिईरहनुभएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

Leave a Reply