वाम लोकतान्त्रिक गठबन्धन, प्रदेशसभा क्षेत्र (ख), म्याग्दी म्याग्दी जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उमेद्वार छन् ।

नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । जिल्लामा राप्रपा, मंगोल नेशनल मंगोल अर्गनाइजेशन र स्वतन्त्र पार्टी लगायत दल एवम् स्वतन्त्र उमेद्वारहरु पनि छन् ।

गठबन्धनले जिल्लाब्यापी रुपमा पालिका, वडा र टोल स्तरमा संयुक्त कार्यकर्ता भेला गरी प्रशिक्षण र चुनाव प्रचारप्रसारको काम थालेका छन् । प्रदेशसभा क्षेत्र(ख)मा गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रहेका नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख) सभापति टंकप्रसाद पुनसँग चुनावी अभियानका विषयमा केन्द्रित भएर गरिएको कुराकानी ।

सर्वप्रथम यहाँलाई स्वागत छ ।

–धन्यवाद ।

यहाँ वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख) मा चुनावी कमाण्डर (निर्वाचन परिचालन समिति)को संयोजक भएर विभिन्न ठाउँमा पुग्नुभयो । अहिलेसम्मको अवस्था कस्तो पाउनुभयो ? के के गतिबिधी भए बताइदिनुहोस न ? –

जहाँसम्म लाग्छ विपक्षी दलहरुले वामलोकतान्त्रिक गठबन्धनलाई बाहिरी रुपमा जस्तो देखिएता पनि भित्रि रुपमा अन्तरद्धन्द्ध छ भन्ने भ्रम फैलाएका थिए । उहाँहरुले भनेको र फैलाएको भ्रम जस्तो अवस्था छैन् । हामी प्रत्येक वस्ती, टोलको तल्लो तहसम्म पुग्दा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जनमोर्चाका स्थानीय नेता कार्यकर्ताहरु एकदमै सकारात्मक र उत्साहित भएर लाग्नुभएको छ । तल्लो तहबाट उत्साहका साथ सल्लाह, सुझाव र एकतावद्ध भएर लाग्ने विश्वास दिलाउनुभएको छ । नेता कार्यकर्ताहरु आगामी चुनावमा गठबन्धनलाई जिताउन तल्लो तहबाट मसिनो ढंगले लाग्नुभएको छ । गठबन्धन कसिलो र जितको आधार बनेको छ ।

कहाँ कहाँ पुग्नुभयो ? त्यहाँका नागरिक र कार्यकर्ताको भनाई प्रतिक्रीया के पाउनुभयो ? 

उहाँहरुको भनाई बुझ्दा स्थानीय तहको चुनावदेखिनै यसरी गठबन्धन बनेको भए सजिलो हुने थियो । विपक्षको बिसौ बर्षादेखि यो भूगोल, नागरिकहरुलाई जुन किसिमको शोषण उत्पीडन गरिरहेको, भनेजस्तो काम नगरेका, सबै ठाउँमा एकलौटी ढंगले विभेदहरु गरिरहेका छन् । राजनीति र सत्ताको आडमा जुन किसिमको विभेद गरिरहेका छन् त्यो विभेदलाई चिर्न र अन्त्य गर्नको निम्ति पनि आगामी चुनावमा हाम्रो गठबन्धनका स्थानीय कार्यकर्ताहरुले गठबन्धनलाई दिर्घकालिन बनाउन सुझाव दिनुभएको छ ।

उनिहरुले भन्दा फरक किसिमले काम गर्न र जनतालाई परिवर्तनको अनुभव दिलाउनुपर्ने अपेक्षा गर्नुभएको छ । स्थानीय तहमा गठबन्धन हुन नसकेता पनि अहिले संघ र प्रदेशमा भएको गठबन्धन सहनीय छ । यसपाली सकारात्मक प्रतिफल निकाल्ने आश्वासन र प्रतिवद्धता स्थानीय कार्यकर्ताबाट पाएका छौ । जनताहरु पनि आशावादी देखिएका छन् ।

गठबन्धनका उमेद्वारको योजना के छन ? जिताएर पठाएपछि काम गर्छन भन्ने आधार के छ ?

गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा २०७० र २०७४ को निर्वाचनमा पराजित हुँदा पनि कत्तिपनि विचलिन नभएर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिनुभएको छ । आफ्नो सेवा, सुखसयलपूर्ण जिवनलाई त्यागेर म्याग्दीको भूगोल र जनताको सेवामा सक्रीय रहदै आउनुभएको छ । म्याग्दी जिल्लामा केही गर्छु भन्ने उत्साहका साथ उहाँ लाग्नुभएको छ । २०४८ देखि ७४ सम्मको चुनाव जितेका प्रतिनिधिहरुले गर्न नसकेको काम गर्ने योजना उहाँको छ ।

म्याग्दीको भूगोल र जनताको हितमा काम गर्ने उहाँको सोच छ । प्रदेश (ख)का उमेद्वार रेशमबहादुर जुग्जाली पनि दशौ वर्ष दन्द्धमा होमिएर त्यसपछिको शान्तिपूर्ण राजनीतिमा यही भुगोलमा सक्रीय हुनुहुन्छ । यो ठाउँको टोल, बस्ती, नागरिकका समस्या, आवश्यकता बुझेको, काम गर्न सक्ने इच्छाशक्ति भएको युवा नेता हुनुहुन्छ । २०४८ सालदेखि एमालेका प्रतिनिधीहरुले जितेर गएपनि यस क्षेत्रको भूगोलमा उल्लेख्य गर्न सकेनन् । हाम्रो गठबन्धनका उमेद्वारहरुले फरक ढंगबाट गर्नुहुन्छ ।

यहाँका नागरिकको सोच, जिवन र भूगोलमा सकारात्मक परिवर्तन ल्याउने, राजनीतिक अधिकार दिलाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । उहाँहरुले जितेर गइसकेपछि जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने विषयमा सचेत बनाउने र झकझकाउने हामीहरुको पनि जिम्मेवारी हुनेछ् ।

यही दंगले म्याग्दी र प्रदेश क्षेत्र (ख)का बासिन्दा दाजुभाई दिदिबहिनीहरुलाई प्रतिनिधीसभाको उमेद्वार खम्बिर गर्बुजा र प्रदेशसभा सदस्य उमेद्वार रेशमबहादुर जुग्जालीलाई अत्याधिक मत दिएर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहुन हार्दिक अनुरोध गर्दछु । म प्रदेश क्षेत्र (ख)को निर्वाचन परिचालन कमिटिको संयोजक भएको नाताले त्यही ढंगले सबै नेता कार्यकर्ता साथीहरुलाई परिचालित गर्ने र गठबनधनमा इमान्दारिता पुर्वक लाग्नु भयो भने जित सुनिश्चित भएको सबैमा जानकारी गराउन चाहन्छु ।

Leave a Reply