Source: Google

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा ब्यस्त रहेका म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।

राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने जनाइएको छ । जिल्लामा अहिले चुनावी घरदैलो, भेटघाट र बैठकमा ब्यस्त रहेका दलहरुले अव आमसभामा ध्यान दिने भएका छन् ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए÷नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ । यसपटक आमसभा सहितका गतिविधिमा आयोग कडा रुपमा प्रस्तुत भएको देखिन्छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply