म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो ।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिनुभयो ।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित नेपाली कांग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ । श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ ।

आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि वस्तु वितरण गर्न पाईदैन । मतदाता प्रभावित बनाउन खोज्ने उमेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।

Leave a Reply