म्याग्दीको बेनी नगरपालिका-२,फाँपरखेतका पूर्ण दृष्टि गुमाएका आइतबहादुर दर्जीले हरेक पाँचबर्षमा आउने निर्वाचनमा आफ्नै श्रीमती र छोराको सहयोगमा मतदान गर्छन्। उनले हरेक निर्वाचनमा आश्वासन दिनेलाई नै मत दिने गरेका छन् ।

सार्वजनिक जग्गामा सुकुम्बासी सरह जिवन विताइरहेका दर्जीलाई चुनावको मुखमा विभिन्न राजनीतिक दलका कार्यकर्ताले सरकारी सुविधा दिने,घर बनाइदिने जस्ता आश्वासन दिने गरेका छन् । चुनावको मुखमै घरमा आउने उम्मेदवार,दलका कार्यकर्ताहरूले चुनावपछि फर्किएर नआएको दर्जी बताउँछन्।

‘भोट बटुल्न मात्रै आउँछन्,‘चुनावमा मात्र नेताहरुले मलाई सम्झिन्छ’ दर्जीले भने। उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको सहयोगमा दृष्टिविहिन कान्छो छोराको उपचार गरेको,सहयोगबाटै घरखर्च चलाउने गरेको बताए।

सदरमुकाम बेनीबजार नजिकै रहेको मुस्लिम सुकुम्बासी बस्तीका बासिन्दाले तीनदशकदेखि राख्दै आएको माग अहिलेसम्म सुनुवाई भएको छैन् । बेनीबजारमा मानवबस्तीको विस्तारसँगै भित्रिएका मुस्लिमका न्यूनतम माग समेत पूरा नभएको अगुवा रहमत खाँले बताए ।

‘चुनावमा हामीलाई भोट दिनुहोस् तपाईंका समस्या हामी समाधान गर्छाै भन्छन्,‘हामीलाई आश्वासन दिएर भोटमा ठगि भइरहेको छ’ उनले भने । निर्वाचित भएका संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिले समेत समस्या समाधानमा चासो नदेखाएको गुनासो मुस्लिम समुदायको छ । अभावमा गुज्रिएको पुरुण्यका समस्या समाधान गर्ने प्रतिबद्धता सहित ढोका–ढोकामा आएर नमस्कार गरेका नेताहरूलाई पाँच वर्षपछि स्थानीयले देख्न पाएका छन्।

म्याग्दीमा आर्थिक अवस्था कमजोर भएका,विपन्न, अपाङ्गता भएका तथा विपन्नहरुको बसोबास रहेको बस्तीहरूमा केही आर्थिक प्रलोभन देखाएर बोट बटुल्न उम्मेदवार र दलका नेताहरूको लर्को लाग्छ । गएको स्थानीय तहको निर्वाचनमा एकमहिना भित्रै खानेपानी सहितका आश्वासनमध्ये एउटा आश्वासन पूरा नभएको भन्दै बेनपा–५ पुरण्यकी ६० वर्षीया गौमती दर्जीले आश्वासन मात्रै दिन नेताहरू घरदैलोमा आएको बताइन्।

‘घर–घरमा पानी ल्याइदिन्छौ भन्ने नेताको अनुहार चुनावमा मात्रै देखिन्छ,‘चुनाव जितेपछि बाटोमा बोलाउँदा समेत बोल्दैनन’दर्जीले भनिन् । उनले सबै दलका झूटा आश्वासन सुन्दा सुन्दै उमेरै बितेको बताईन् । एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै केही स्थानीय नेतालाई प्रयोग गरी बषौंदेखि भोटमा लुट मच्चाउँदै आएको स्थानीयको गुनासो छ ।

पुरण्यमा १०३ दलित घर परिवारको वस्ती छ। वस्तीमा २ सय ५० भन्दा बढी मतदाता संख्या र ४ सय बढी जनसंख्या छ । बाक्लो वस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको भन्दै चुनाव नेतालाई मात्रै आउने जनतालाई हात्ति आयो ‘हात्ति आयो फुस्स’जस्तै भएको मतदाताको गुनासो छ।

हरेका निर्वाचनमा विपन्नलाई राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग गर्ने गरेका छन् ।आर्थिक प्रलोभनबाटै चुनाव जित्ने दलहरूले आधारभुत आवश्यकता पूरा गर्न भने पहुँचवालाहरू नै बजेट दिने गरेको मतदाताको आरोप छ । म्याग्दीमा ४ सय ५ वटा मुख्य बस्ती छन् ।

प्रदेश सभातर्फका उम्मेदवारलाई सवै वडामा पुग्न सजिलो भए पनि प्रतिनिधिसभाका उम्मेदवारलाई भने १५ दिनमा सबै वडामा पुग्न नभ्याइने भएकाले आफ्नो सन्देश लिएर घरदैलोमा पठाउने गरेका छन् । दलित, विपन्न समुदायलाई आफ्नो पक्षमा पार्न दलहरूले झुटा आश्वासन दिने गरेको भन्दै यसपटक मतदाता नै आक्रोशित भएपछि दलका उम्मेदवार र प्रचारप्रसारमा गएका कार्यकर्तालाई समेत हम्मेहम्मे परेको छ।

Leave a Reply