आज कार्तिक शुक्ल पक्षको एकादशी । हरिबोधिनी एकादशीको नामले चिनिने यो एकादशी तीथिलाई वर्षभरिका सबै एकादशीमध्ये सबैभन्दा बढी महत्व दिइएको पाइन्छ ।
यो एकादशीलाई ठूली एकादशी भन्ने चलन पनि छ । यस दिन औषधिय गुणले युक्त तुलसीको पूजाआराधना गरिन्छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने मान्यताअनुसार आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।
धार्मिक मान्यताका अतिरिक्त तुलसीको औषधीय महत्व पनि रहेको छ । आदिकालदेखि पूजा गरिँदै आएको तुलसी वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ ।
यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक विष्णु आचार्यले बताए ।
चिकित्सक आचार्यका अनुसार तुलसी दुई प्रकारको हुन्छ । श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ । यी दुबैमा औषधिय गुण भरपुर हुन्छ ।

यस्ता छन् तुलसीको औषधीय गुण

चिकित्सकहरुका अनुसार तुलसीलाई बहुउपयोगी वनस्पती मानिन्छ । कुनैपनि शारीरिक संक्रमण र जुनसुकै रोगमा पनि तुलसी प्रयोग गर्न सकिन्छ ।
हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनाले प्राकृतिक रुपमा क्रमशः उच्च रक्तचाप नियन्त्रण गर्न र तनाव हटाउँन तुलसी सहयोगी हुने चिकित्सक आचार्यले जानकारी दिए ।
संक्रमित खानेकुरा र जंकफूडले गर्दा बालबालिकाहरुको पेट खराब भइरहेको हुन्छ । यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु पर्छ । यसले पेट स्वस्थ्य त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्ने र पेटका समस्या समाधान हुने वताइन्छ ।
त्यसैगरी वान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ । घाउ खटिरामा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा अझ लाभ मिल्छ । तुलसीको सेवनले यौनजन्य समस्याबाट समेत छुटकारा दिने चिकित्सकहरुको भनाइ छ । शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसी उपयोगी हुन्छ । तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्ने आचार्यले बताए ।
मुखको दर्गन्ध हटाउनमा पनि तुलसी उपयोगी हुन्छ । यसमा निम्ति नियमित रुपमा तुलसीको पात चपाउनुपर्ने आर्युवेदिक चिकित्सक बताउछन् । चिकित्सक आचार्यका अनुसार त्यस्तै टाउको दुख्यो भने तुलसीको रसले निधारमा मसाज गरेमा निको हुन्छ । खोकी लागेको बेला तुलसीको पात, अदुवाको टुक्रा पकाएर मह मिसाएर सेवन गर्नुपर्छ । छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाउनुपर्छ । त्यसलाई बिस्तारै छातीमा मसाज गर्नुपर्छ ।

Leave a Reply