बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो। समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लोपटक यो ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड जस्तै बनेपछि थप आकर्षक बनेको हो । माघदेखि वैशाख महिनासम्म लालीगुराँस ढकमक्कै फुलेर राताम्य हुने टोड्के क्षेत्रमा विभिन्न समयमा वनभोज खानका लागि मानिसहरु पुग्ने गरेका छन् । टोड्के स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहको गन्तव्य बनेको छ ।

टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्णसहित मानापाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेनलगायत हिमालहरु देखिन्छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ, पर्वत र बागलुुङको डाँडाकाँडाहरु समेत देखिन्छन् । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वनजङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको थप आकर्षण हो । हिमालसँगै टाँसिएर सेल्फी लिन र टिकटक बनाउन पाउँदा मन त्यसै फुरुङ्ग हुन्छ ।

टोड्के हिल रिसोर्ट प्रालिले पर्यटकलक्षित सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि अहिले दैनिकजसो स्वदेशी पर्यटकहरु टोड्केमा पुग्ने गरेको स्थानीयले बताएका छन् । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको टोड्के हिल रिसोर्टका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो ।

अहिले पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ । थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादीरहित मुलाको खेती गर्दै आएका छन् । टोड्के पुग्ने पर्यटकलाई स्थानीयले मुला र गुन्द्रुक उपहार दिने गर्दछन् ।

यसैगरी टोड्केमा एकसय वर्ष पुुरानो प्युठान जिल्लामा रहेको स्वर्गाद्वारी आश्रमको शाखा पनि रहेको छ भने यहाँ विभिन्न समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र टोड्केको विकास गर्न तथा पर्यटक आगमन बढाउनका लागि सडक सञ्जालको स्तरोन्नति गर्नुपर्ने रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो ।

Leave a Reply