५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा.लि.ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपियाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कुल १० अर्ब ७४ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्कको अगुवाइमा मेगा बैङ्क, कृषि विकास बैङ्क, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैङ्कले लगानी गर्ने सहमति भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेन्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धक सक्षम एवम् अनुभव प्राप्त संस्था तथा व्यक्तिहरू भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष थापाले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

त्यस्तै, ऊर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले ऊर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताउनुभयो । अध्यक्ष राजभण्डारीले देश विकासमा हाइड्रो पावरको भूमिका आफ्नो पनि सहकार्य जनाउनका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले ऊर्जा डेभलपर्सले न्यूनतम समय एवम् प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्यहरू गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गर्नुभयो  । अध्यक्ष भण्डारीले आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने पनि बताउनुभयो ।

यसैगरी, सम्झौता कार्यक्रममा बोल्नुहुँदै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताउनुभयो । विगत केही समयदेखि विश्वव्यापी रूपमा नै सिर्जना भएको तरलता अभावका कारण बैङ्कहरूमा लगानी योग्य रकम अभाव भएको उहाँको भनाइ छ ।

उपाध्यक्षले बजारमा तरलता अभाव भनिए पनि  तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैङ्क बन्द हुने अवस्था आउने बताउनुभयो । बैङ्कहरूमा तरलता सङ्कट नभएर लगानी योग्य रकमको अभाव भएको छ । अध्यक्ष उपाध्यायले अहिलेको अवस्था हेर्दा कम्पनीको लागत चार रुपियाँसम्म बढेको बताउनुभयो । उहाँले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै, नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैङ्कको अग्रता र अन्य चार बैङ्कको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताउनुभयो । उहाँले देशको आर्थिक संवृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत आयोजनासँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको धारणा व्यक्ति गर्नुभयो ।

माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ ।

आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपियाँ) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपियाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुटाइएको छ ।

आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । गोरखापत्र अनलाइनबाट

Leave a Reply