म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा धान काट्दै गरेकी ३१ वर्षीया देवी रावलले रत्नेचौरमा चुनावी सभाका लागि आएका नेकपा माओवादी केन्द्र म्याग्दीका नेता गोविन्द पौडेललाई समयमै मल र बिउ नपाइएका कारण धानबाली राम्रोसँग नसप्रिएको गुनासो गरिन् ।

रत्नेचौरकै अर्का कृषक सुशीला बोगटीले प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हरि भण्डारीलाई समयमा नै मल र बिउ उपलब्ध गराउने प्रतिवद्धता गरेमात्र भोट दिने भन्दै खेती थन्काउने टिपाटिप भएकोले चुनाव प्रचारप्रसारमा आएका उम्मेदवारहरूलाई भेटेर कृषकका समस्याहरू सुनाउन नपाएको गुनासो गरिन् ।​

त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका कृषक नारायण सापकोटाले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर) लाई कृषकका समस्यालाई प्राथमिकतामा राखेर नीति बनाउन आग्रह गर्दै नेताहरुलाई किसानका समस्यासँग कुनै सरकोर नै नरहने गरेको गुनासो गरे ।

उनले कृषिलाई व्यवसायिक वनाएर आम्दानी वृद्धि गर्ने खालको योजनाहरु आफूले ल्याउने र आफू निर्वाचित भएपछि मल र बिउको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारका लागि गाउँमा आएका राजनीतिक दलका नेता र उम्मेदवारहरूसँग ग्रामीण क्षेत्रका मतदाताहरूका अधिकांश गुनासाहरू कृषि क्षेत्रको सुधार नभएको र सुशासन कायम गर्न नेताहरू असफल भएका नै रहने गरेका छन् ।

चुनाव आउन अब १२ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरुले चुनाव प्रचार प्रसार अभियानलाई तीब्र बनाएका छन्। गाउँ केन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारहरूले जनताका गुनासा सुन्ने र आफ्ना प्रतिवद्धताहरु सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताहरूको विगतलाई अब नदोहोर्‍याउन आग्रह गरिरहेका भेटिन्छन् ।

शनिबार ज्यामरुककोटमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी (केन्द्र) को तर्फबाट समानुपातिक तर्फका उम्मेदवार राष्ट्रिय योजना आयोगमा भूतपूर्व उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले कृषि उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर नबनुन्जेलसम्म नेपालको आर्थिक अवस्थामा सुधार हुन नसक्ने बताउँदै कृषि,भौतिक पूर्वाधार निर्माण,पर्यटन, र सुशासनको क्षेत्रमा सुधारका लागि अबको पाँच वर्ष प्रयत्न गरिनुपर्ने बताए।

नेकपा माओवादी (केन्द्र) को तर्फबाट प्रदेश १ का उम्मेदवार हरि भण्डारीले आफू गाउँमा जन्मे हुर्केको किसानको छोरो भएकोले किसानका समस्याहरूसँग परिचित भएको बताउँदै जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदाता कृषक भएकाले किसानहरूको मन नजिति निर्वाचन जित्न नसकिने यथार्थता व्यक्त गर्दै किसानका समस्या समाधानका लागि आफू हरसमय तयार रहने बताए ।

त्यस्तै भकुण्डेमा नै आयोजित चुनावी  सभामा नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि आफू निर्वाचित भएपछि किसानहरुका समस्या दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरे । एमालेको तर्फबाट प्रदेश सभा १ का उम्मेदवार देवेन्द्रवहादुर केसीले पनि आफ्नो प्राथमिकतामा कृषि,पर्यटन र सुशासन रहेकोले किसानका समस्याप्रति आफू संवेदनशील रहेको वचनबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी ८६ हजार १२० जना मतदाता छन् । ती मध्ये ६० प्रतिशत भन्दा बढी मतदाता ग्रामीण क्षेत्रका किसान रहेका छन् ।

म्याग्दीमा प्रतिनिधि र प्रदेश सभाका तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच/पाँच जना उम्मेदवार छन् । वि.स. २०५६ मा काँग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।
२०७४ मा एक वटा प्रदेशसभा माओवादी र एक वटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र काँग्रेस–राप्रपाले तालमेल गरेका थिए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २३ हजार ९०, काँग्रेसले १९ हजार ८७० र माओवादीले ८५९२ मत ल्याएका थिए ।
६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् ।

Leave a Reply