आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रम र आमसभामा उम्मेदवार र तिनका नेता पुगेपनि मतदाता अझै खेतबारीमा ब्यस्त छन् । आमसभामा उल्लेखनीय जनसहभागिता नभएपछि राजनीतिक दलले सांगीतिक कार्यक्रमहरुमार्फत माहोल बनाउने रमतदाता रिझाउन अनेकन प्रयास गरिरहेका छन् ।मतदानमा सहभागी हुने दिन नजिकैदै जाँदा वडास्तरमा भइरहेका सभाहरुमा उम्मेदवारले मतदातालाई पार्टीका गितसंगीतबाटै विश्वासमा लिने प्रयास गरिरहेका छन्। गीतसंगीतका साधन सहित उम्मेदवार वडामा पुग्न थालेपछि विस्तारै माहोल बढ्दै गएको छ ।

शहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनकता छाएको छ । चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारहरूको टोली नै बोकेर हिँडेका छन् । आफ्नो पार्टीमा आस्थावान् कलाकारहरू बोकेर चुनावी सभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ । आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्नसमेत आव्हान गर्ने गरेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेस र माओवादी सहितको गठबन्धनले गीतसंगीतसँगै चुनावी अभियनलाई प्राथमिकता दिएको छ । भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएको एक नेताको भनाई छ । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत–संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् ।

गठबन्धनले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने नेकपा एमालेले चुनावी खर्चमै समेटेको छ। त्यस्तै नेशनल मंगोल अर्गनाइजेसनले समेत नृत्य सहितको चुनावी अभियानलाई प्राथमिकता दिएको छ । चुनावी अभियानमा पार्टीका गतिविधि सहित अन्य जानकारी समेत नृत्य र गितसंगीतबाटै दिन सकिने भएकाले समेत पार्टीहरुले कलाकारहरुलाई सँगसँगै लैजाने गरेका छन् ।

नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न÷नगराउन नहुने’ व्यवस्था गरेको छ ।

Leave a Reply