आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा बदर मतको सङ्ख्या घटाउन म्याग्दीमा नमुना मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा गएको मङ्गलवारदेखि आज (शुक्रवार)सम्म जिल्लाको छ वटै पालिकामा नमुना मतदानको अभ्यास गरिएको हो ।प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) अन्तर्गत बेनी नगरपालिकाको बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञानोदय मावि र अन्नपूर्णको पोखरेबगरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी प्रदेश सभा (२) अन्तर्गत धवलागिरि गाउँपालिकाको धारापानी, मालिकाको दरबाङ र मंगलाको बाबियाचौरमा नमुना मतदान गरिएको छ ।

नयाँ मतदाताहरुलाई मतदान गर्ने तरिकाबारे सिकाउन तथा बदर हुने मतको सङ्ख्या घटाउने उद्देश्यले नमुना मतदान गरिएको निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । जिल्लाको सबै पालिकामा भएको नमुना मतदान अभ्यास कार्यक्रममा झण्डै चारसय जनाले सहभागिता जनाएका छन्,‘नमुना मतदानले बदर न्यूनिकरणमा सघाउने छ’ प्रमुख घिमिरेले भने ।

नमुना मतदान अभ्यासमा ज्येष्ठनागरिक, शिक्षक, विद्यार्थी, स्थानीयवासी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।मतदाता शिक्षाको अवस्थाको पहिचान तथा निर्वाचन सामग्रीको प्रयोग र परीक्षणका लागि नमुना मतदान गरिएको जनाइएको छ । मंसिर ४ गते हुने यसपटकको चुनावमा मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाअन्तर्गत प्रत्यक्ष तथा समानुपातिक गरेर चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा म्याग्दी जिल्लामा कुल ५४ हजार ६ सय ७८ मत खसेकोमा ९२ दशमलव ४३ प्रतिशत मत सदर भएको थियो । २०७४ सालको प्रतिनिधि र प्रदेश सभाको चुनावमा ४७ हजार ४ सय ४९ मत खसेकोमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ दशमलव ८१ प्रतिशत र प्रदेश सभातर्फ ३ दशमलव १२ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ ९ दशमलव ८७ प्रतिशत र प्रदेश सभातर्फ १४ दशमलव २७ प्रतिशत मत बदर भएको थियो ।

यसपटक बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमका लागि म्याग्दीमा मात्रै ४ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेर अहिले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भैरहेको छ । कुल ६ वटा पालिका रहेको म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन् । निर्वाचित हुने तीन पदका लागि विभिन्न दल र स्वतन्त्रसहित १९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

Leave a Reply