आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (शनिवार) म्याग्दीको बेनीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको अधिकार, लोकतन्त्र र मानव अधिकारको आधार’ भन्ने नारासहित आसन्न निर्वाचनमा खटिने पर्यवेक्षकहरुलाई अभिमुखीकरण गरिएको हो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग), म्याग्दीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ का लागि पर्यवेक्षकलाई अभिमुखीकरण कार्यक्रम गरिएको जनाएको छ । निर्वाचनको पर्यवेक्षण गर्न खटिने १५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नियोक म्याग्दीका उपाध्यक्ष तथा सहजकर्ता हरिप्रसाद पौडेल र अर्का सहजकर्ता दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा निर्वाचनको नीतिनियम, निर्वाचन आयोगले जारी गरेको आचारसंहिता, पर्यवेक्षकलाई लागू हुने आचारसंहिता, पर्यवेक्षण के हो र मतदान केन्द्रमा पुगेर कसरी पर्यवेक्षण गर्न सकिन्छ भन्नेलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो ।

नियोग म्याग्दीमार्फत जिल्लाको छ वटै पालिकामा छरिएर निर्वाचनको प्रत्यक्ष रुपमा अनुगमन गर्ने तयारी गरिएको नियोग म्याग्दीले जनाएको छ । अभिमुखीकरण कार्यक्रमको समापन गर्दै नियोग म्याग्दीका अध्यक्ष घनश्याम खड्काले पर्यवेक्षकले मतदान केन्द्रको बारेमा मतदान अधिकृतसँग पूर्व अनुमति लिई समग्र विषयवस्तुको बारेमा जानकारीसहित पर्यवेक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply