राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले शनिबार मंगला गाउँपालिकाको बरंजामा चुनावी आमसभा गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मतदातालाई हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाका लागि मतदान गर्न प्रतिनिधिसभाका उम्मेदवार जगतप्रसाद गौचनले मतदातालाई अपिल गर्नुभएको थियो ।

आमसभामा बोल्दै उम्मेदवार गौचनले देशीविदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दीले ‘राष्ट्रियता जोखिममा परेकाले राप्रपालाई भोट दिएर देशको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न सम्झौतामार्फत नेपालमा विदेशीको चलखेल र प्रवेश भइसकेको बताउँदै अबको निर्वाचनमा राप्रपा बाहेकका अन्य दलहरु विदेशीलाई खुसी बनाउने एजेण्डामा मात्रै केन्द्रित रहेको बताउनुभयो । चुनावी अभियान अन्तरगत पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले बरंजामा तत्कालिन समयमा आफ्नो पहलमा खानेपानी सहितको विकास निर्माणले गति लिएको बताउनुभयो ।

‘अहिलेपनि हाम्रो प्रयासमा बनेका खानेपानी जनताले प्रयोग गरेका छन्,‘त्यो बेलाको हाम्रो विकासको प्रयास नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक छ’ गौचनले भन्नुभयो ।

उहाँले एकपटक राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवारलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्नुभएको थियो । चुनावी सभामा जिल्ला अध्यक्ष बिरबहादुर थापा, राप्रपाले प्रदेश सभा क्षेत्र नं २ की उम्मेदवार मिठुकुमारी थापा,जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायतका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

Leave a Reply