आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा खटिने कर्मचारीहरुलाई तालिम दिइएको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई लक्षित गरेर आज (शनिबार)देखि तालिम दिन सुरु गरिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीहरुलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचनसम्बन्धी विषयमा अभिमुखीकरण गराइने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा जिल्लाको विभिन्न मतदानस्थलमा खटिने मतदान अधिकृतहरुलाई सहभागी बनाएर तालिमको व्यवस्था गरिएको छ ।

तालिममा सहभागी भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान केन्द्र निर्माण गरी नमुना मतदानको अभ्यास समेत गराइएको थियो । तालिमको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना र निर्वाचन कार्यालय प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनसम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिरहनुभएको छ ।

तालिमका सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई व्यवहारिक र सैद्धान्तिक विषयमा समेत जानकारी गराइने जनाइएको छ ।  उक्त तालिममा निर्वाचनसम्बन्धी ऐन कानुन, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्या, समाधानका उपायहरु, निर्वाचन व्यवस्थापन, सुरक्षा जनशक्ति, मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, कर्मचारी, आर्थिक व्यवस्थापन, मतदान अधिकृत एवं सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयहरुमा सहजीकरण भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी घिमिरेले शनिबार १ सय २० जना र आइतबार पनि १ सय २० जना गरी कुल २ सय ४० जनालाई तालिम दिइने जानकारी दिनुभयो ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिने भएको छ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।आउँदो निर्वाचनलाई लक्षित गरी म्याग्दी जिल्लामा ४ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरेर सदरमुकामदेखि गाउँसम्म मतदाता शिक्षा समेत सञ्चालन भैरहेको छ । मंसिर ४ गतेको निर्वाचनका लागि जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन्भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् ।

Leave a Reply