म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारी साधनमा ४५ मिनेटको यात्रा गरेपछि बेनी नगरपालिका-५ मा पर्ने पुरण्य गाउँमा पुगिन्छ ।

बेनी नगरपालिका-५ को मुख्य गाउँ पुलाचौरदेखि दलितहरुको मात्र बसोवास रहेको पुरण्य गाउँसम्मा १ सय ५ घर परिवारको बसोवास छ । यहाँ करिब ५ सय जनसंख्या र २ सय ६० मतदाता रहेका छन् । अघिपछि राजनीतिक दलका नेताहरुको पाइला नपर्ने यो गाउँमा चुनाव नजिकिंदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरुको लर्को लाग्ने गरेको छ ।

चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर पुरण्य गाउँमा भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरुण्य गाउँका समस्या समाधान गर्ने प्रतिवद्धतासहित ढोका–ढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावपछि पहिलो पटक यहाँका नागरिकले देख्न पाएका छन् । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको भन्दै ६४ वर्षीय पूर्णबहादुर दर्जीले आश्वासन मात्रै दिन नेताहरू घरदैलोमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयाे,-‘गाउँमा खानेपानीको चरम अभाव छ । विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौं । घर–घरमा पानी ल्याइदिन्छौं भन्ने स्थानीय नेताकै अनुहार बल्ल ६ महिनापछि देखेका छौं । नेताहरुको बोलीमा विश्वास नै लाग्न छोडिसक्यो।’

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठा-मीठा आश्वास मिल्ने गरेकाे स्थानीय अगुवा हिराबहादुर परियारले बताउनुभयो । तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको उहाँकाे तर्क छ ।

राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् । म्याग्दीमा दलित र विपन्न समुदायलाई आफ्नो पक्षमा पार्न दलहरूले झुटा आश्वासन दिने गरेको भन्दै यसपटक मतदाता नै आक्रोशित भएपछि दलका उम्मेदवार र प्रचारप्रसारमा गएका कार्यकर्तालाई समेत हम्मेहम्मे परेको छ ।

Leave a Reply