राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले राप्रपाको पक्षमा मतदान गरी जिताउन आग्रह गर्नुभएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्व मन्त्री समेत रहनुभएका वरिष्ठ नेता राणाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट संघ र प्रदेशमा उठेका राप्रपाका उम्मेदवारलाई भोट दिएर जिताउन म्याग्देली जनतालाई अपिल गर्नुभयो । उहाँले राप्रपा पार्टीले सक्षम र योग्य व्यक्तिलाई निर्वाचनमा उठाएको बताउँदै आफू उपप्रधानमन्त्री बनेमा जगत भाइलाई मन्त्री बनाउने आश्वासन दिनुभयो ।

आफू र आफ्नो परिवारको सबैभन्दा नजिकको भाइ जगत भएकाले आसन्न निर्वाचनमा म्याग्दीबाट प्रतिनिधि सभामा जगत गौचनलाई जिताएर पठाउन राप्रपाका वरिष्ठ नेता राणाले आग्रह गर्दै मन्त्री बनाउने र म्याग्दीको विकासमा आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियता बचाउन तथा हिन्दुराज्य स्थापना गर्नको लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी जिल्लाको समुज्ज्वल भविष्य निर्माण गर्न राप्रपा र राप्रपाका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको उहाँको भनाइ छ ।

राप्रपा म्याग्दीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न हेलिकोप्टर चार्टर गरेर म्याग्दी आउनुभएका वरिष्ठ नेता राणाले राप्रपाको पक्षमा मत माग्दै देशको सुन्दर भविष्यका लागि राप्रपाले जित्नैपर्ने दावी समेत गर्नुभयो । चुनावी सभाको सुरुआतमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो ।

राप्रपाका पूर्व सहायक मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार जगतप्रसाद गौचनले म्याग्दीमा सडकको स्तरोन्नति, नदी तथा खोलामा तटबन्ध, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउन र पूर्वाधारको निर्माण गरी जिल्लाको विकास गर्ने आफ्नो एजेण्डा रहेको बताउँदै मंसिर ४ गतेको निर्वाचनमा आफूलाई मतदान गरेर विजयी बनाउन आह्वान गर्नुभयो । राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले आफ्नो कार्यकालमा जिल्लामा विकासको जग बसालेको बताउँदै राष्ट्रियता जोगाउनका लागि राप्रपाको पक्षमा मतदान गर्न अपिल गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा (१)का उम्मेदवार प्रवीण शाही, (२)का उम्मेदवार मिठूकुमारी थापा, राप्रपाका केन्द्रीय सदस्यद्वय रामबहादुर शाही, जयलाल पुन र विश्वहिन्दु महासंघका जिल्ला अध्यक्ष डण्डपाणि पौडेलले हिन्दुराज्यसहित राष्ट्रियतालाई बलियो बनाउन राप्रपालाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रम राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply