सुन्तला पाक्न थालेपछि खरिद गर्नका लागि व्यापारीहरू बोटमै पुगेका छन् । पछिल्लो समय सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिँदै गएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाको सुन्तला खरिद गर्न व्यापारीहरू किसानको बगैँचामै पुगेका हुन् ।

बास्कुनाको सुन्तला खरिद गर्न भन्दै पोखरा, नवलपुर, चितवन र काठमाडौंबाट व्यापारीहरू बोटमै पुगेका छन् । व्यापारीसँग त्यहाँका पाँच जना किसानहरूले २५ लाख २० हजार रुपियाँमा सुन्तला बिक्री गर्ने सहमति गरिसकेका छन् । अन्य किसानले पनि बिक्रीका लागि सहमति जनाएका छन् । बास्कुना क्षेत्रमा अहिले मुख्य रूपमा २० जना किसानहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।

यस वर्ष बास्कुना गाउँबाट मात्रै सुन्तलाको उत्पादन हेर्दा ४५ देखि ५० लाख मूल्य बराबरको बिक्री हुने अनुमान गरिएको सिङ्गाका वडा सदस्य केन खत्री (सन्दीप)ले बताउनुभयो । बास्कुनामा लगाइएको बोटमा अहिले सुन्तला लटरम्मै फलेर रङ देखिएको भए पनि चुनावी माहौलले गर्दा टिपेर बजार पठाउने काम भने भएको छैन ।

बास्कुनाको व्यावसायिक सुन्तला किसान समेत रहनुभएका वडा सदस्य खत्रीले नौ लाख ५० हजार रुपियाँमा सुन्तला बिक्री गर्ने सहमति गरेर पेस्की रकम बुझेको बताउनुभयो ।

किसान खत्रीले भन्नुभयो, ‘अहिले पहिलो चरणमा सुन्तलाको बगान हेरेर नौ लाख ५० हजारमा सुन्तला बिक्री गर्ने सहमति गरेसँगै ५० हजार रुपियाँ पेस्की समेत बुझेको छु । व्यापारीहरू चुनावपछि आएर सुन्तला टिपेर लैजानुहुन्छ । त्यतिबेलासम्म सुन्तला अझै राम्रोसँग पाक्नेछ ।’ बास्कुनाका किसानहरूमध्ये तिलक खत्रीले तीन लाख ५० हजार, सन्दीप खत्रीले नौ लाख ५० हजार, ढकबहादुर केसीले दुई लाख र देउबहादुर हुमेनले दुई लाख ७० हजारमा सुन्तला बिक्री गर्ने सहमति गरेका छन्।

त्यस्तै तिलक गुरुङले सात लाख ५० हजार रुपियाँमा बगान पुरै बिक्री गर्ने सहमति गर्नुभएको छ । अन्य किसानहरूले भने सुन्तला बोटबाट टिपेर प्रतिकेजी ७० रुपियाँको दरले बिक्री गर्ने योजना बनाएका छन् ।

‘बास्कुनाका केही किसानहरूले बगानको सुन्तला एकमुष्ट रूपमा मूल्य निर्धारण गरेर बेच्नका लागि सहमति गरेका छन् । हामीहरूले बोटबाटै टिपेर तौल गरी ७० रुपियाँ किलोको दरमा बिक्री गर्ने सहमति गरेका छौँ’ अर्का किसान धनकुमारी केसीले भन्नुभयो ।

किलोमा बिक्री गर्ने किसानहरूमा मनबहादुर केसी, काजी घले, भीम थापा, भीम गुरुङ, नरबहादुर केसी, याम केसी, देवी केसीलगायत रहेका छन् ।

Leave a Reply