आसन्न निर्वाचन आउन ४ दिन मात्र बाँकी छ। म्याग्दीका राजनीतिक दल चुनावी आमसभासहित मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। दैनिक दुईतीनवटा आमसभा भ्याइरहेका दलहरूले टोली विभाजन गरी घरदैलोसहितका विभिन्न कार्यक्रममा जुटेका छन्।

विभिन्न समूह बनाएर वडा, पालिकामा हिँडिरेका उम्मेदवारले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको देखिन्छ। दलका चुनावी कार्यतालिकाले माहोल तताइरहेको अवस्थामा सहर बजारदेखि ग्रामीण क्षेत्रसम्म अझै मतदातालाई चुनावले खासै तताउन सकेको छैन। सहरका मतदाता विभिन्न व्यवसायमा र ग्रामीण क्षेत्रमा खेतबारीमा अन्न भिœयाउन व्यस्त छन्। निम्नवर्गका मतदातालाई चुनावकै वास्तै छैन।

बिहानै मजदुरीमा निस्किएका मजदुरहरू आफ्नो हातमुख जोड्न व्यस्त छन् भने ग्रामीण क्षेत्रमा दलीय पकेट क्षेत्र मानिएको स्थानमा समेत मतदाताको बाक्लो भीड देखिँदैन। स्थानीय तह निर्वाचन सकिएको सात महिनापछि अर्को निर्वाचनले अर्थ व्यवस्थापनमा समेत दललाई हम्मेहम्मे परेको छ भने मतदाताले स्थानीय चुनावमा दिएको आश्वासन तेस्र्याएपछि उम्मेदवारलाई समेत पुनः प्रतिबद्धता दोहो¥याउनुपर्ने बाध्यता छ।

मतदातामा चुनावी रौकनताले नछोए पनि दलहरू अभियानसँगै आन्तरिक रणनीति बनाउन व्यस्त छन्। उनीहरू एक साताको अवधिमा आफ्नो पक्षमा चुनावी माहोल ल्याउन विभिन्न माध्यमबाट कार्यकर्ता खटाएको देखिन्छ। गठबन्धन र नेकपा एमाले अन्तिम चरणमा आफ्नो माहोल हुने दाबी गर्दछन् ठूला दलका गतिविधिबाट आजित भएका मतदाताले यसपटक सन्देशसहितको मत प्रकट गर्ने बताउँछन्।

चुनावको अन्तिम र शून्य समयमा आर्थिक चलखेलसहित मतदातालाई प्रभावित बनाउन सक्नेतर्फ सुरक्षा निकायसमेत सतर्क छन्। मौन समयअगाडि अन्तिम कसरत गर्ने तयारीमा रहेका दलहरूले आर्थिक र अन्य प्रभावले मतदाताको मत तान्ने रणनीति बनाएको देखिन्छ। गठबन्धन र एमालेका उम्मेदवारले जिल्लाभरबाट मतपरिणामको प्रारम्भिक आकलन गरी थप रणनीति बनाइरहेको बताएका छन् भने अन्य साना दलसमेत चुनावी अभियानमा व्यस्त छन्।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ९ सय ५२ जना कर्मचारी परिचालन गरिने भएको छ। प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

आगामी निर्वाचनलाई लक्षित गरी म्याग्दी जिल्लामा ४ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर सदरमुकामदेखि गाउँसम्म मतदाता शिक्षासमेत सञ्चालन भइरहेको छ। मंसिर ४ को निर्वाचनका लागि जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन् भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन्।

Leave a Reply