विगतका निर्वाचन आसपासका घटना तथा मतदान सुरक्षाका दृष्टिले म्याग्दीमा १५ मतदान केन्द्र अति संवेदनशिलमा राखिएको छ ।  अघिल्लो प्रतिनिधि र प्रदेशसभा तथा दुई स्थानीय तहका निर्वाचनका गतिविधिलाई मध्यनजर गरी ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेको हो ।

जिल्ला सुरक्षा समितिले १५ अति संवेदनशिल, ५८ वटा संवेदनशिल र ९ सामान्यमा राखेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जन शर्माले बताए । अति संवेदनशिल मतदान केन्द्रमा तीनै तहको सुरक्षा निकायको निगरानी तथा संवेदशिल र सामान्यभन्दा फरक किसिमले कडा सुरक्षा व्यवस्था हुने बताइएको छ।

विगतमा सदरमुकाम बेनी तथा आसपासका क्षेत्रका मतदान केन्द्रलाई समान्यमा राख्ने गरिएको थियो भने निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, यसपटक थपिएका नयाँ मतदान केन्द्र, सडक सञ्जाल लगायतलाई आधार बनाएर मतदान स्थलहरुलाई तीनवर्गमा विभाजन गर्ने गरिएको सुरक्षा समितिले जनाएको छ ।

अति संवेदनशिल मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने छ । यसैबीच जिल्लाको अति दुर्गम धवलागिरी गाउँपालिका–१, गुर्जा र वडा नं ४ मुदीको बगरमा रहेको मतदान केन्द्र सहित आवश्यकता परेको स्थानबाट मतेपेटिकालाई हेलिकप्टरबाट समेत ल्याउन सकिने जनाइएको छ । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिने भएको छ। प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply