उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले २०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो ।

कटुवालले वि.सं. २०४२ सालदेखि ०४४ सम्म मुक्तिधाम माध्यमिक विद्यालय राखुभगवतीको निम्न माध्यमिक तहमा शिक्षण सेवा प्रदान गर्नुभएको थियो । शिक्षणकै सिलसिलाको क्रममा उहाँले ०४७ सालमा नेकपा एमालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो भने ०४७ सालदेखि ०५३ सालसम्म आदर्श मावि रिममा प्रअको भूमिका निर्वाह गरी शिक्षण गर्नुभएको थियो। रिमको यही विद्यालयमा कटुवालले शिक्षण गर्दागर्दै देशमा २०५४ सालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएको थियो।

शिक्षकको जागिरमा रहँदै गर्दा एमालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका कटुवाललाई ०५४ सालमा एमालेले राखुभगवती गाविसको अध्यक्षको रुपमा उम्मेदवार बनाएको थियो । शिक्षकको जागिर छाडेर राजनीति क्षेत्रमा प्रवेश गरी जनप्रतिनिधि बनेर उहाँले जनताको सेवा गर्ने अवसर र इच्छालाई स्थानीय निकायको निर्वाचनले समेत पुरा गरिदियो । उहाँ भगवती गाविसको अध्यक्षमा निर्वाचित भई राजनीतिसँगै जनप्रतिनिधिको रुपमा सामाजिक सेवामा क्रियाशील रहनुभयो । पाँच वर्षको कार्यकालमा उहाँले स्थानीय जनताको आवश्यकता र कामलाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गर्नुभएको थियो । निर्वाचित गाविस अध्यक्षको रुपमा रहँदै गर्दा उहाँले स्थानीयस्तरमा रहेका जनताको आधारभूत समस्या समाधान गर्नुका साथै जनचाहनाअनुसार गाउँको विकासमा लाग्नुभएको थियो । उहाँ ०५४ सालमा अध्यक्षमा निर्वाचित भई २०५९ सालसम्म पाँचवर्ष जनप्रतिनिधि रही जनताको सेवामा लाग्नुभयो ।

शिक्षण पेशामै रहँदा कटुवालले २०४९ सालदेखि ०५४ सालसम्म दुई कार्यकाल तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको अध्यक्ष बनेर युवा संघमा साङ्गठनिक काम गर्नुभएको थियो । उहाँ २०४७ सालपछि एक कार्यकाल गाउँ कमिटी सचिव र एक कार्यकाल इलाका कमिटीको सचिव भई पार्टीको काम गर्नुभएको थियो । उहाँ २०५५ सालपछि एमाले म्याग्दीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै लगातार दुई कार्यकाल एमालेको जिल्ला उपाध्यक्ष बन्नुभयो । उपाध्यक्ष रहँदै गर्दा एमाले नेता कटुवाल नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै २०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख बन्न सफल हुनुभयो । उहाँले ०७४ साउन महिनादेखि ०७९ वैशाखसम्म जिल्ला समन्वय समितिको प्रमुखको रुपमा जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएको थियो ।

२०७८ साल पुस महिनामा सम्पन्न नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बन्नुभएका नेता कटुवालले विभिन्न सामाजिक संघसंस्थाको समेत नेतृत्व गरी सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । शिक्षक, जनप्रतिनिधि र राजनीतिक तथा सामाजिक क्षेत्रको नेतृत्व तथा काम गरेर अनुभव सङ्गाल्नुभएका उहाँ यही मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीको तर्फदेखि प्रदेश सभा (१)तर्फ उम्मेदवार बन्नुभएको छ ।

एमालेबाट जिल्लाको प्रदेशसभा (१)मा उम्मेदवार बनेर चुनावी मैदानमा होमिनुभएका नेता कटुवाल अहिले चुनाव प्रचारप्रसारको क्रममा मतदाताको घरदैलो तथा चुनावी सभामा निकै व्यस्त हुनुहुन्छ । जिल्ला समन्वय समितिमा रहँदा उहाँले म्याग्दी जिल्लामा भूकम्पबाट प्रभावित तथा भवन अभाव झेलेका थुप्रै विद्यालयहरुको भवन पुनर्निर्माण र नयाँ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी जनता आवास, जिल्लामा सडकको विस्तार तथा स्तरोन्नति, स्वास्थ्यचौकीका भवन निर्माणलगायत पर्यटकीय क्षेत्रको पूर्वाधार विस्तार, विद्युतीकरण जस्ता विकास निर्माणका कार्यहरुमा उहाँले पहल गर्नुभएको थियो । भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको रुपमा चिनिन सफल हुनुभएका एमाले नेता कटुवाल, नेता, कार्यकर्ता र आम म्याग्देली जनताको बीचमा लोकप्रिय हुनुहुन्छ ।

निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेसँगै मतदातालाई घरदैलोमार्फत भेटघाट गर्न र चुनावी कार्यक्रम लिएर गाउँ पस्नुभएका उम्मेदवार कटुवालले एमालेप्रति आम म्याग्देली जनसमुदायको विश्वास बढेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ अभियानमार्फत घरदैलो तथा भेटघाट कार्यक्रममा जनताको घरहरु र वस्तीहरुमा पुग्दा जनताहरुबाट हाम्रो पार्टी नेकपा एमालेप्रति अत्यन्त सकारात्मक सन्देश प्राप्त गरेका छौं ।

पार्टीप्रतिको आकर्षण बढ्दो भएको र एमाले पार्टी र एमालेकै उम्मेदवारहरुलाई मंसिर ४ गतेको निर्वाचनमा विजयी बनाउनुपर्ने भन्ने खालका प्रतिक्रियाहरु हामीले पाएको छौं ।’ आफ्ना चुनावी एजेण्डाहरुको बारेमा जानकारी गराउँदै उहाँले थप्नुभयो, ‘हाम्रो पार्टीले तयार गरेको घोषणापत्र र उम्मेदवाहरुले तयार गरेको प्रतिबद्धताअनुसार हामीले काम गर्नेछौं । खास गरेर जनताका सामान्य समस्याहरुदेखि लिएर शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, पर्यटनका पूर्वाधारहरुको निर्माण गर्ने र जनतालाई सहज एवं सुलभ ढङ्गले सेवासुविधा उपलब्ध गराउने हिसाबले हामी प्रतिबद्धता जाहेर गर्दछौं ।’

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट म्याग्दीको प्रदेशसभा (१)मा एमालेले बेनी नगरपालिकाको प्रमुख र पाँचवटा वडा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र पाँचवटा वडा जितेको थियो भने रघुगंगा गाउँपालिकामा भने तीनवटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष पदमा शानदार मत प्राप्त गरेको जनाएको छ । आसन्न निर्वाचनको लागि प्रदेशसभा निर्वाचन (१) अन्तर्गत जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा ४८ हजार ४ सय ७२ मतदाता रहेका छन् । आउँदो निर्वाचनमा प्रदेशसभा (१)मा सत्तारुढ पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ भने एमालेबाट पार्टीको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल चुनावी मैदानमा हुनुहुन्छ । म्याग्दीको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

Leave a Reply