रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ वर्षका हुन् । एक वर्षयता नेकपा माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजक रहेका जुग्जाली पार्टीको गण्डकी प्रदेश कमिटिको सचिवालय सदस्य पनि हुन् ।

????????????????????????????????????

उमेरले युवा भएपनि व्यवहारमा परिपक्क जुग्जाली राजनीतिक र सामाजिक क्षेत्रमा करिब २० वर्षदेखि सक्रीय छन् । जनताको माग र समस्यालाई उच्च तहसम्म अडान लिएर निरन्तर खटेर समाधान गर्ने, प्राप्त जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने क्षमताले जुग्जालीलाई राजनीतिमा स्थापित बनाएको हो । जुग्जालीको व्यक्तित्व, सहयोगी भावना र नेतृत्वशैलीले जनप्रिय नेता बन्न सफल भएका हुन् । स्पष्ट वत्ता, कुशल संगठक, जनपरिचालन गर्न सक्ने क्षमता, सहयोगी, भूगोल, नागरिकको आवश्यकता र समस्या बुझेर ठोस योजना बनाई तत्कालै कार्यान्वयन गर्ने सक्ने जुग्जालीका व्यक्तिगत विशेषता हुन् ।

रेशमबहादुर जुग्जालीको जन्म वि.स. २०४० साउन २२ गते बुवा स्व. खड्गबहादुर र आमा लिलावती जुग्जालीको कोखबाट भएको हो । जुग्जाली मालिका गाउँपालिका–७ बिमका बासिन्दा हुन् । उनि परिवारमा माइला सन्तान हुन् । जनयुद्धमा होमिएका रेशमका जेठा दाजु जितबहादुर वि.स. २०५८ सोलुखुम्बुमा ‘सहिद’ भएका थिए । उमेर सानो भएकाले कान्छा भाई नविन बाहेक रेशमका साइला भाई टिकबहादुर (समिर) र बहिनी चन्द्रा पनि जनयुद्धमा भूमिगत भएका थिए । वि.स. २०६३ मा माओवादीका पूर्णकालिन कार्यकर्ता ज्योतीसँग जनवादी बिवाह गरेका जुग्जाली दम्पतिका एक सन्तान छन् । जुग्जाली परिवारको नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान छ ।

राजनीतिक आवद्धता र संलग्नता

२०५६ मा विमको किसानी माविमा अनेरास्ववीयू क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रा शुरु गरेका रेशमबहादुर जुग्जाली २०५७ मा जिल्ला सदस्य र २०५८ मा जिल्ला सचिव हुदै संकटकाल लागेपछि भूमिगत बनेका हुन् । कक्षा १० पढ्दै गर्दा भूमिगत भएका जुग्जालीले शान्ति प्रक्रीयामा आएपछि एसएलसी उतिर्ण गरे । २०५९ मा माओवादीको इलाका सेक्रेटरी, २०६० मा जिल्ला सदस्य बनेका जुग्जालीले २०६२ को अन्तिममा जनमुक्ति सेनाको कम्पनी कमिसारको जिम्मेवारी पाए । जनमुक्ती सेनामा भ्वाइस कमाण्डर बनेका जुग्जाली सेनाबाट २०६३ मा युवा संगठन वाइसीएलको संस्थापक जिल्ला सचिव बनेर सांगठनिक राजनीतिमा आए । वाइसीएलको सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरोधी अभियान सञ्चालन भएका थिए ।

२०६५ मा माओवादीको तत्कालीन मगराँत राज्य कमिटिको सदस्य र जिल्लाको सचिवालय सदस्य बनेका जुग्जाली वि.स. २०७० मा माओवादी विभाजन हुदाँ मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको जिल्ला सेक्रेटरी भए । वि.स. २०७१ देखि २०७३ सम्म कुनै पनि दलमा आवद्ध भएनन् । वि.स. २०७४ को स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका–७ बिममा वडा अध्यक्षमा जुग्जाली सहित स्वतन्त्र उमेद्वारको प्यानल विजयी भयो ।

करिब तीन वर्षपछि उनको राजनीतिमा ‘कमब्याक’ भयो । वि.स. २०७४ को संसदीय चुनावमा वाम गठबन्धनलाई सघाएका जुग्जालीले माओवादीको तर्फबाट पार्टी एकता कार्यदलको सदस्य हुदै एकतापछि बनेको तत्कालीन नेकपाको जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पाए । जुग्जालीसँगै त्यसबेला माओवादीका द्धन्दकालिन नेता टेकबहादुर वि.क. (सुवास), बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीमा स्वतन्त्रबाट वडा अध्यक्ष जितेका पदम पुन, ताकमका खुमनाथ सुवेदी लगायत धेरै जनयुद्धमा भूमिगत भएका नेता कार्यकर्ता नेकपामा आवद्ध भए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक संसद विघटनको विपक्षमा उत्रिएका जुग्जालीले २०७८ देखि माओवादीको जिल्ला समन्वय समितिको जिम्मेवारी पाएका हुन् । म्याग्दीमा माओवादीलाई सांगठनिक रुपमा बलीयो र कार्यकर्तालाई बैचारिक बनाउन जुग्जालीले पुराना र नयाँ पुस्ताका नेता कार्यकर्तालाई एकसाथ सन्तुलन मिलाएर अघि बढेका छन् । पार्टीको जिल्ला नेतृत्व सम्हालेपछि पनि उनले जनतासँगको नाता टुट्न दिएनन् अझ मजबुत बनाएका छन् । उनी जनताले समस्या पाएको थाहा पाउने वित्तिकै समाधान गर्न तम्सिहाल्छन् ।

सामाजिक क्षेत्र र जनप्रतिनिधीको अनुभव

तत्कालीन जिल्ला विकास समितिले जुग्जाली अध्यक्ष रहेको दरवाङ–खारा–बिम सडक उपभोक्ता समितिलाई उत्कृष्ट उपभोक्ता समितिको रुपमा सम्मान गरेको थियो । उपभोक्ता समितिलाई धेरैले नकारात्मक टिप्पणी गरिरहेको अवस्थामा सरकारी अनुदानको अतिरिक्त समुदाय र प्रवासी दाताको सहयोग जुटाएर बिममा निर्माण भएका सडकमा बाह्ै महिना ट्याक्सी गुड्छन् । एक कार्यकाल नेपाल मगर संघ म्याग्दीको कोषाध्यक्ष पनि बनेका थिए । जनप्रतिनिधिको भूमिकामा वडाको नेतृत्व गर्दा विपद् व्यवस्थापन, विकास आयोजना कार्यान्वयनमा जनपरिचालन, ठूला योजना भित्र्याउने, सेवा प्रवाह, सामाजिक परिवर्तनमा नमुना अभ्यास गरेका जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षको उमेद्वार बनेका थिए ।

यस्तो छ अंकगणित
मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई समेटेको म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा रेशमबहादुर जुग्जाली पाँच दलीय गठबन्धनको साँझा उमेद्वार हुन् । प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । स्थानीय चुनावमा धवलागिरी गाउँपालिकाको वडा तहसम्मै काँग्रेस–माओवादीले तालमेल गरेका थिए । अध्यक्ष काँग्रेस र उपाध्यक्षमा माओवादीले जितेका छन् ।

मित्रवत प्रतिस्पर्धा भएको मालिका र मंगला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको छ । सो निर्वाचन क्षेत्रको १९ मध्य ६ वटा वडामा काँग्रेस र ४ वटा वडामा माओवादीले जितेका छन् । यो क्षेत्रमा गत स्थानीय चुनावमा माओवादीका वडा अध्यक्षका उमेद्वारले चार हजार तीन सय, काँग्रेसका वडा अध्यक्षका उमेद्वारले सात हजार ५३१ र एमालेका वडा अध्यक्षका उमेद्वारले दश हजार १३२ मत पाएका थिए । गठबन्धनका उमेद्वार निर्बिरोध भएको धवलागिरी गाउँपालिका–१ गुर्जाको मत नजोड्दा यो निर्वाचन क्षेत्रमा काँग्रेस–माओवादी एमालेका वडा अध्यक्षका उमेद्वार भन्दा एक हजार ६९९ मतले अगाडी छन्।

गत चुनावमा जुग्जाली र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोका मालिकाको अध्यक्षका प्रत्यासी थिए । मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका रोका धेरैको अनुमान विपरित अहिले जुग्जालीसँगै गठबन्धनका उमेद्वारलाई भोट माग्न गाउँ टोलमा घरदैलो हिडेका छन् ।

यस्ता छन योजना

म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने प्रदेशसभाको (ख) क्षेत्रको भूगोल विकासका हिसाबले पछि परेको छ । गुर्जामा अझै सडक पुगेको छैन् । तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सो क्षेत्रको लाईफलाइन मानिएको बेनी–दरवाङ सडक कालोपत्र गर्न र मालिकाको केन्द्र दरवाङ देखि धवलागिरीको केन्द्र मुना जोड्ने सडक ग्राभेल गर्न गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको योजना अलपत्र छ । सो निर्वाचन क्षेत्रमा पर्ने छ वटा वडामा अझै केन्द्रिय लाइनको विद्युत सुविधा पुगेको छैन् । विजुली पुगेको वडाको पनि पुरै भूगोलमा विस्तार गर्न बाँकी छ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीकोको अवसरका खोजीमा बसाईसराइका कारण जनसंख्या घट्दै गएको छ । भौगोलिक रुपमा विकट क्षेत्रमा निर्माणाधिन सडक पुल, खानेपानी, सिचाई, झोलुङ्गे पुल, सडकका आयोजना समयमा पुरा हुदैनन् । खेतीयोग्य जमिनमा सिचाई सुविधा छैन् । पहिरो, कटान र बाढीको हिसाबले पनि यो क्षेत्र जोखिमयुक्त छ । बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पस यो क्षेत्रको एक मात्र क्याम्पस हो ।

भौगोलिक रुपमा विकट र दुर्गम भएपनि यो निर्वाचन क्षेत्रको भूगोलमा जलविद्युत, पर्यटन, कृषि, वन पैदावार (जडिवुटी) तथा खनिजको सम्भावना छ । म्याग्दी र सहायक नदीहरुमा २०० मेगावाट भन्दा क्षमताका चार वटा जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गरेका छन् । थप केही जलविद्युत आयोजना निर्माणको प्रक्रीयामा छन् ।

ती जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्न शुरु भएको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन र सबस्टेशन आयोजना निर्धारित समयमै पुरा गर्नुपर्ने छ । पश्चिम म्याग्दीमा गुणस्तरीय विद्युत आपुर्तिका लागि रातोढुंगामा २०७४ देखि निर्माण शुरु भएको सबस्टेशन र मिलनचोक–रातोढुंगा सबस्टेशन पुरा गर्न ताकेता, समन्वय र सहजिकरण गर्ने जुग्जालीको योजना छ ।

सिपमुलक तालिमको माध्यमबाट जलविद्युत आयोजनाका लागि आवश्यक जनशक्ति उत्पादन गरी रोजगारीका लागि नीतिगत व्यवस्था एवम् प्रभावित क्षेत्रका बासिन्दाको अधिकारलाई सुरक्षित गराउने योजना छ । स्थानीय तहलाई संघ र प्रदेशका योजनालाई अनुगमन, सहजिकरण गर्ने कानुनी व्यवस्था गर्नुका साथै जनप्रतिनिधीको हैसियतमा प्रदेशमा र संघीय निकायमा हस्तक्षेप तथा समन्वय गर्ने उहाँ प्रतिवद्धता छ । अधुरा र अलपत्र योजनालाई सम्बन्धित निकायलाई सक्रीय बनाएर कार्यान्वयनका साथै पूर्णता दिएर स्थानीय आवश्यकता र माग अनुसारका योजनाका लागि बजेट, कार्यक्रम र योजना भित्र्याउने जुग्जालीको प्रतिवद्धता छ ।

म्याग्दीका पाँच वटा स्थानीय तहलाई जोड्ने बेनी–दरबाङ– बिम– मराङ–मल्कवाङ– ठाडाखानी–पाखापानी– झिँ–पात्लेखेत–घतान– बेनी जोड्ने सडकलाई म्याग्दी–राहुघाट कोरिडोर चत्रपथ बनाउने, लुलाङ, गुर्जा र लाई सडक सञ्जालसँग जोड्ने, धवलागिरी गाउँपालिका देखि ढोरपाटनलाई सडक सञ्जालले जोड्ने, दरवाङ–सोलेडाडा–लामेला–बुर्तीवाङ सडकलाई स्तरोन्नती गरेर मध्यपहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने योजना गठबन्धनका उमेद्वारले अघि सारेका छन् ।

मालिका र धवलागिरी गाउँपालिकाको रुम, निस्कोट, नर्जा लगायत ठाउँका ढुंगाखानी व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन भने कानुनको अभावमा उत्खनन् भएको स्लेट निकासीमा समस्या छ । खानी सञ्चालन सम्बन्धी कानुन निर्माण गर्ने अधिकार संविधानले प्रदेशसभालाई दिएको छ । स्थानीयको अधिकार सुरक्षित गदै स्लेट खानीलाई व्यवस्थित तामा, फलामका खानीको सम्भाव्यता अध्ययन र सञ्चालनका लागि पहल गर्ने गठबन्धनका उमेद्वारले प्रतिवद्धता जनाएका छन् ।

संसारको सातौ अग्लो धौलागिरी, गुर्जा हिमाल अवस्थित यो क्षेत्रमा ढोरपाटन शिकार आरक्ष विभिन्न अग्ला डाडा, धार्मिक र पर्यटकीय सम्भावना बोकेका ठाउँ छन् । आधार शिविर जोड्ने पदमार्गलाई सहज बनाउने, पूर्वाधार र प्रचारप्रसारको माध्यमबाट पर्यटक भित्रएर स्थानीयबासीलाई आयआर्जनको अवसर सिर्जनाका साथै रोजगारी सिर्जना गराउन सकिन्छ । जलविद्युत र पर्यटनको विकासबाट स्थानीयवासीका साथै तीन तहका सरकारलाई पनि रोयल्टी आम्दानी हुन्छ । म्याग्दीको तिरदेखि धौलागिरीको शिरसम्मको भूगोल भएको यहाँ जडिवुटीको पनि प्रशस्त सम्भावना छ । व्यवसायिक जडिवुटी खेती, पशुपालन र सुन्तला, आलु लगायत कृषि लक्षित कार्यक्रम भित्र्याउने योजना छ । त्यस्ता कार्यक्रमलाई वास्तविक कृषकको पहुँचमा लैजान र उपलब्धीमुलक बनाउन व्यवहारिक तथा सरल नीति बनाउनुपर्ने छ ।

ग्रामिण र दुर्गम क्षेत्रका नागरिकहरुले सार्वजनिक सेवाका लागि पाउदै आएको दुख र झञ्जटलाई न्युनीकरण गर्न सेवा प्रवाहमा प्रविधीको प्रयोगका साथै सुधारका लागि नीतिगत पहल गर्ने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता छ । सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार गर्दै पहुँच वृद्धि गर्ने, रोजगारीको अवसर सिर्जन ागर्ने, भौतिक र सामाजिक विकास गर्ने, आधुनिक कृषि प्रणालीको विकास, पर्यटन प्रर्वद्धन गर्ने, खेलकुदको विकास, उत्पादनमा जोड, संस्कृति संरक्षणका मुद्दालाई जोड दिएका छन् ।

Leave a Reply