---Advertisement---

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

On: November 17, 2022 11:16 PM
Follow Us:

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ। मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ।

आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ।