मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीको दुर्गममा रहेका मतदानस्थलमा कर्मचारी खटिन थालेका छन् । दुर्गमका मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचनको सामग्री बुझेर आज मतदान केन्द्रतर्फ प्रस्थान गरेका हुन् ।

म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गूर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा २० जना कर्मचारी खटाइएको छ । यसैगरी धवलागिरि–४, मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलको लागि पनि आवश्यक निर्वाचनका सामग्रीसहित १९ जना कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गूर्जाको जनकल्याण माविको मतदान केन्द्रमा ७ सय ५४ जना र बगरको कैलाश आधारभूत मतदान केन्द्रमा १ सय ५७ जना मतदाताहरु रहेका छन् । म्याग्दीको बेनीदेखि गूर्जा र बगर पुग्न दुई दिनको समय लाग्ने भएकाले समयमै निर्वाचनको टोली मतदानस्थल पुग्ने गरी आज बुधबार नै कर्मचारी खटाइएको हो । लुलाङसम्म सवारीसाधनको यात्रापछि १ दिनको पैदल यात्रापछि पुगिन जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१, गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन ।

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले मतपत्रसहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो । सदरमुकाम बेनीदेखि गूर्जा पुग्न दुई दिनको समय लाग्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मीसहितको तयारी समेत गरिएको छ । जिल्लाका अति दुर्गम क्षेत्रमा खटिएका कर्मचारीसहित सुरक्षाकर्मीलाई कार्यक्षेत्रतर्फ पठाउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो

एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका सबै निर्वाचन केन्द्रमा मंसिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर आफूहरु गूर्जातर्फ लागेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply