---Advertisement---

भुरुङ तातोपानीको शिरमा पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडा

On: November 19, 2022 9:59 PM
Follow Us:

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ।

यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका २ का पूर्ववडाध्यक्ष ओमप्रकाश फगामीले बताए।

मान्द्रेढुंगादेखि मुन्द्रा चढाउने डाँडामा जाने बाटोमा पर्ने विभिन्न भाँडाकुँडा, पशुपक्षीलगायतका आकृति अवलोकन गर्न सकिन्छ। नजिकै झरना पनि रहेको बराह गुफाको धार्मिक महत्त्व छ। जनैपूर्णिमाको अवसमा पूजाआजा गर्दा इच्छा नुसारको वर पाइने जनविश्वास छ। जहाँ झरनासँगै रहेको गुफामा वडाले पूर्वाधार निर्माण गरेको छ।

मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ। अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको पूर्ववडाध्यक्ष फगामीले जानकारी दिए। यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको सात लाख रुपैयाँ सहयोगमा बेरोजगार युवा परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुंगा जोड्ने पदमार्ग निर्माण भएको छ।

धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडाबाट हिमाल, पहाडी भूगोल, वनजंगलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिकाले लुकेर रहेका विभिन्न मनमोहक दृश्य अवलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरु, वनजंगल, तालतलैया, जडिबुटी, झरनाको संरक्षण तथा पूर्वाधार निर्माणमा जोड दिएको छ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।