मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्। छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।

निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निकै चाप छ।

बेनी बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँजो मिलाएर आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन्।निर्वाचनमा मतदान गर्नका लागि उनीहरू गाउँघर फर्कन थालेका हुन्।

राजधानी तथा देशका अन्य ठाउँमा रहेका म्याग्देलीहरू पनि भोट हाल्नका लागि गाउँ फर्किएपछि गाउँ भरिभराउ भएका छन्। आफन्तसँग भेटेर आफूलाई मनले खाएको उम्मेदवार र पार्टीलाई मतदान गर्ने सरसल्लाह भइरहेको बेनी नगरपालिका-२ का नारायण सापकोटाले बताए।

बजारबाट गाउँ फर्किनुपर्ने हुँदा हिजोआज बेनीको बसपार्कमा यात्रुहरूको निकै भीडभाड हुने गरेको छ। शुक्रबार बिहानै जहान परिवारसहित सदरमुकाम बेनीबाट मालिका गाउँपालिका-५ मा पर्ने देवीस्थान जान लागेका शेरबहादुर बूढाले गाउँबाट आफन्तले फोन गरेर चुनाव आयो आउनुपर्‍यो भनेर बारम्बार बोलाएपछि जान लागेको बताए।

‘चुनाव त ५ वर्षमा आउने ठूलो चाड जस्तै हो नि, दशैं तिहार त वर्षेनी आउँछन् तर चुनाव ५ वर्षमा एकचोटी मात्र आउँछ‚’ बूढाले भने‚ ‘भोट हालेर राम्रो जनप्रतिनिधि चुन्ने यस्तो मौका गुमाउन भएन।’

प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ क्षेत्र रहेको म्याग्दीमा ३ पदका लागि १९ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा ५/५ जना उम्मेदवार छन्।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन्।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ जना मतदाता छन।

यसैगरी मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन्।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ।

Leave a Reply