एउटा यस्तो मतदान केन्द्र छ, जहाँ कुल मतदाता ३४ जना मात्रै छन्। यो नेपालकै सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र पनि हो। मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समरगाउँस्थित समर आधारभूत विद्यालयको मतदान केन्द्रमा गएको स्थानीय तहको निर्वाचनमा पनि कुल मतदाताको संख्या ३४ नै थियो। स्थानीय निर्वाचनमा १७ मत खस्यो। यो केन्द्रमा मतदान गर्ने मतदाता सबै एउटै गाउँका हुन्।

आइतबार हुने आम निर्वाचनमा स्थानीय तहमा भन्दा अझ कम मत खस्ने आँकलन गरिएको मतदान अधिकृत सकुन्तला अधिकारी बताउँछिन्। ‘१३ देखि १५ मत खस्ने आँकलन छ’, उनले भनिन्, ‘स्थानीय व्यापार गर्नलाई तल झरिसकेका रहेछन्।’

यहाँका स्थानीय चिसो बढेसँगै मौसमी व्यापार गर्नलाई बेसी झर्ने प्रचलन छ। धेरै त व्यापार गर्न भारतसम्म पुग्ने गर्छन्। भारत पुगेका नफर्कने भएकाले नेपालमा भएकाले मात्रै मतदानमा सहभागी हुने अधिकारीको भनाइ छ।

जोमसोमबाट २१ किलोमिटर पर रहेको यो मतदान केन्द्रलाई तयार पार्ने काम भइरहेको छ। मतदान केन्द्रमा विजुली, इन्टरनेटको समस्या रहेको अधिकारीले सुनाइन्। ‘मर्ज भएको विद्यालय भएकाले भौतिक पूर्वाधारको पनि समस्या छ’, उनले भनिन्। यहाँ ७ जना महिला कर्मचारी मतदान सम्पन्न गराउन खटिएका छन्। ७ जना सुरक्षाकर्मी छन्, तीमध्ये दुई जना मात्रै पुरुष सुरक्षाकर्मी हुन्।

यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३५ जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख मदन अर्यालले जानकारी दिए। हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा शुक्रबार कर्मचारी र सुरक्षाकर्मी हिउँ पन्छ्याउँदै पुगेको उनले बताए। लोमन्थाङ गाउँपालिकाको सम्जोङ मतदान केन्द्रमा ६१ जनामतदाता छन्। सबैभन्दा धेरै मतदाता रहेको थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्र हो। त्यहाँ ६ सय ४९ मतदाता रहेका छन्।

जिल्लामा १० हजार ९५७ मतदाता छन्। ५ हजार ५८१ महिला महिला, ५ हजार ३७५ पूरुष र १ जना अन्य मतदाता हुन्। एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ९ जनाले प्रतिस्पर्धा गर्ने अर्यालले बताए। प्रतिनिधि सभातर्फ ४ जना उम्मेदवार छन्। प्रदेश ‘क’ मा २ र प्रदेश ‘ख’ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने अर्यालले जानकारी दिए। नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्।

यहाँका ३९ मतदान केन्द्रमध्ये १८ संवेदनशील मतदानकेन्द्रमा वर्गीकरण गरिएको छ। एक अस्थायी मतदान केन्द्र तोकिएको छ। deshsanchar.com

 

Leave a Reply