म्याग्दीमा आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताउनुभयो ।

म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गूर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा ८५ बर्षिय केशवलाल छन्त्यालले पहिलो मतदान गरेको निर्वाचन अधिकृत अमृत सुबेदीले बताउनुभयो। यसैगरी धौलागिरी हिमालको आखमा अवस्थित धवलागिरि गाउँपालिका–४, मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत समयमै सुरु भएको छ ।

मतदान केन्द्रमा ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी हुनुभएको छ । जिल्लाको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सदरमुकाम बेनीको बेनी सामुदायिक माविको मतदान केन्द्र र नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा खम्बीरले दग्नामको जनता मावि मतदान केन्द्रमा मतदान गर्दैहुनुहुन्छ ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन्।मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता गरी कुल ८६ हजार जना मतदाता छन्।

Leave a Reply