गरिमा विकास बैंक लिमिटेड आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम गरी १६औं वार्षिकोत्सव मनाएकाे छ । वार्षिकोत्सवका अवसरका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकप्रति विश्वास गरी बैंकको सफलतामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ग्राहकवर्ग, सेवाग्राही तथा सेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

२०६४ सालमा स्थापना भएको यो विकास बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्षको इजाजत प्राप्त संस्था हो । यो बैंक आफ्ना सेवा र विश्वसनीयताका आधारमा नेपालका विकास बैंकहरुको उत्कृष्ट सूचीमा पर्दै आएको छ ।

बैंकले केही समयअघि आफ्ना सेयरधनीहरुका लागि १४.५० प्रतिशत लाभांश प्रस्ताव पनि गरेको थियो । बैंकको गत कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा सेयर प्रिमियमबाट शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको गरिमा विकास बैंकले नेपालभरका सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय र उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave a Reply