कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन पोर्चुगलले बिहीबार घानामाथि ३-२ को जितसहित कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ। ६५ औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले सो कीर्तिमान रचेका हुन्। घानाका मोहम्मद सालिसुले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो।

सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकपमा सहभागिता जनाएका रोनाल्डोले लगातार पाँचौं संस्करणसम्म गोल लय कायम राखेका हुन्। सो विश्वकपमा उनले पेनाल्टीमा एक गोल गरेका थिए। सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा पनि रोनाल्डोले एक गोल गरेका थिए।

सन् २०१४ को ब्राजिल विश्वकपमा मात्र एक गोल गरेका रोनाल्डोले रूस विश्वकपमा भने चार गोल गरेका थिए। यससँगै उनले विश्वकपमा आफ्नो गोल संख्या आठ पुर्‍याएका छन्। रोनाल्डोको नाममा विश्वकै सर्वकालीन गोलकर्ताको कीर्तिमान रहेको छ। उनले आफ्नो अन्तर्राष्ट्रिय गोलको संख्या एक सय १८ पुर्‍याएका छन्।

३७ वर्षका रोनाल्डो क्यामरुनका रोजर मिल्लापछि विश्वकपमा गोल गर्ने सबैभन्दा पाका खेलाडी हुन्। मिल्लाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गरेका थिए।

केही दिनअघि मात्र इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड र रोनाल्डोले आपसी सहमतिमै दुई पक्ष बीचको सम्झौता रद्द भएको घोषणा गरेका थिए। सो घटनापछि रोनाल्डो पहिलो पटक खेलमा फर्किएका हुन्। एक टेलिभिजन अन्तर्वार्तामा युनाइटेडका केही पदाधिकारी र मुख्य प्रशिक्षक इरिक टेन हागले सम्मान नगरेको भन्दै उनीहरूप्रति सम्मान नरहेको प्रतिक्रिया दिएपछि उनी विवादमा तानिएका थिए।

विश्वकपको पूर्वसन्ध्यामा क्लबविहीन बनेका रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप सहभागिता भएको संकेत गरिसकेका छन्। रोनाल्डो उपाधिसहित आफ्नो अन्तिम विश्वकप सहभागिता सार्थक बनाउन चाहन्छन्।

७३ औं मिनेटमा कप्तान आन्द्रे आयुको गोलमा घाना खेलमा फर्किएको थियो। त्यसको पाँच मिनेटपछि नै याओ फेलिक्सले पोर्चुगललाई पुनः खेलमा अघि बढाएका थिए। ८०औं मिनेटमा राफेल लियोले पोर्चुगलको अग्रता ३-१ मा पुर्‍याएका थिए। ८९औं मिनेटमा ओसामान बुकारीले घानाका लागि दोस्रो गोल गरे पनि त्यो उनीहरूलाई खेलमा फर्काउन भने पर्याप्त भएन।

समूह ‘एच’ मा घानामाथिको जितसँगै पोर्चुगल तीन अंकसहित शीर्ष स्थानमा छ। उरुग्वे र दक्षिण कोरियाको समान एक अंक छ। आजै सम्पन्न समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। सन् २०१४ को ब्राजिल विश्वकपमा पनि यी दुई टोली आमनेसामने भएका थिए। रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले घानालाई २-१ ले हराएको थियो। विश्वकपको समूहचरणको दोस्रो भेटमा पनि पोर्चुगलले घानामाथि जित लय कायम राखेको हो।

Leave a Reply