हँसिलो अनुहार । गलामा साढे ३ तोलाको सुनको सिक्री । हातमा सुनकै बाला । गाउँ दुर्गम भए पनि शहरका सभ्रान्त परिवारको जस्तो घरको सजावट । बिहान उठेदेखि राती अध्यारो नहोउन्जेलसम्म सुन्तला बगैंचामा नै व्यस्त ३८ वर्षिया मायादेवी पुनको अब कुनै रहर बाँकी छैन ।

बिहान खाए बेलुकी के खाउँ ?जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको जीवनशैली अहिले सबैलाई लोभ्याउने खालको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिए पछि यातायातका साधन मार्फत करिव २० मिनेटको यात्रा पश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने दोसल्ले गाउँ ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि विचमा हरिया डाँडा र जंगलको विचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको वसोवास रहेको छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैंचा छन् । तिनै बगैंचामा फलेका सुन्तला विक्री गरेर यहाँका वासिन्दाहरुको जीवनशैली पत्यारै नलाग्ने किसिमले परिवर्तन भएको छ ।

“हाम्रा लागि सुन्तलाको बगैंचा नै युरोप,अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै विछट्टै माया लाग्छ हामीलाई यी सुन्तलाका बोटको” दोसल्लेको सुन्तला बगैंचामा पुगेको हसिली मायादेवी पुनले भनिन् । उनले गत वर्ष २ लाखको सुन्तला बोटबाट नै विक्री गरें,यस वर्ष नयाँ बोटमा पनि फल लागेकाले ठेकेदारले ४ लाखमा बोटबाटै सुन्तला खरिद गरेको बताईन् । उनलाई सुन्तलाले घरखर्च सहित छोराछोरीको शिक्षादीक्षामा समेत धेरै सहज भएको छ । ‘मेहनत अनुसार फल दिन्छ,‘परिवारमा निर्भर हुनुपरेको छैन’ उनले भनिन् ।

सुन्तला बिक्री नहुदाँ श्रीमानबाट मागेर खर्च चलाउने गरेकी पुनले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि तथा फलफुल ब्यवसाय नै राम्रो भएको बताईन् । पुनले मात्रै होइन दोसल्लेका मिलन गर्बुजा,डिलमाया पुन,प्रेमबहादुर पाइजा लगाएतका ५० जना कृषकहरुले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिन सफल भएका छन् । सबै कृषकहरुका बगैंचामा लटरम्मै सुन्तला फलेका छन् । सुन्तला खरिद गर्न वगैंचामा नै आएका ठेकेदारहरुसँग उनीहरु मोलमोलाई गर्न व्यस्त छन् । देशमा चुनावको रौनक छाएको छ । धेरैलाई चुनावको चटारोले छोएको बेला दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाव किताव गर्न नै भ्याइनभ्याइ छ ।

२०५८ सालदेखि दोसल्लेमा व्यवसायिक सुन्तला खेतीको लहर सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।“पहिला अवस्था फरक थियो,बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका वासिन्दाहरुको जीवन चल्थ्यो” मगरले भन्नुभयो “तर अहिले अवस्था फेरिएको छ । विदेश गएकाहरु पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोवारी अहिले सुन्तला बगैंचामा परिणत भएको छ ।”

 

Leave a Reply