दोहा — साउदी अरेबियाका समर्थकमाझ गल्ली गल्लीमा यस्तै सुनिन्छ । ब्राजिलदेखि दोहाका सडकमा पनि यस्तै सुनिन्छ । विश्वकपलाई लिएर अरबी भाषामा भन्ने गरिएको छ, ‘मेसी कहाँ छन् त ? हामीले उनको आँखा फुटायौं ।’ यसको अर्थ कोही कसैको सानमा धक्का पुर्‍याउनु हो । मेसी र उनको अर्जेन्टिना विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित रूपमा २–१ ले पराजित भएको थियो । यो हार अर्जेन्टिनाका लागि लज्जास्पद नै थियो ।

यो नतिजाले मेसीमात्र होइनन्, अर्जेन्टिना आफैं चर्को दबाबमा छ । डर कस्तो छ भने कसैले नचिताए जस्तै अर्जेन्टिना सुरुबाटै प्रतियोगिताबाट बाहिरिने । त्यसैले अर्जेन्टिनाले शनिबार मेक्सिकोको सामना गर्दा निश्चित जित आवश्यक हुनेछ । अन्यथा अर्जेन्टिनी टिमको काम भनेको लाज मान्दै घर फर्कने मात्र हुनेछ । मेसी भन्छन्, ‘हामीले सुरुदेखि भनेका हौं, हाम्रा लक्ष्य सबै खेल जित्ने हो । अब त हामीलाई जित झन आवश्यक भएको छ ।’

संयोग पनि कस्तो भने मेक्सिको टिमका प्रशिक्षक अरू केही होइनन्, अर्जेन्टिनी नै हुन् । त्यो पनि कुनै समय अर्जेन्टिनाका लागि खेलेका अनि कुनै समय अर्जेन्टिनी टिम प्रशिक्षकका रूपमा सम्हालेको । लगातार दुई अवसरमा कोपा अमेरिकाको फाइनल गुमाएका जेरार्डो मार्टिनोले सन् २०१४ देखि २०१६ बीच अर्जेन्टिनी टिम सम्हालेका थिए । अहिले उनी मेक्सिको टिमका प्रशिक्षक छन् र टिमलाई अन्तिम १६ पुर्‍याउन प्रयास गर्नेछन् ।

त्यो भनेको अर्जेन्टिनाको स्थानमा मेक्सिकोको नकआउट चरणको यात्रा हो । संयोग के रहेको छ भने पछिल्ला विश्वकपका सात संस्करणमा मेक्सिको नकआउट चरणको पहिलो चरणमै हार बेहोरेको छ । त्यसमध्ये दुईपल्टको प्रतिद्वन्द्वी अर्जेन्टिना रहेको छ । त्यो भनेको सन् २००६ र २०१० को विश्वकप हो । यसपल्ट भने यिनै दुई टिमको भेट लिग चरणमै भएको छ । प्रतियोगिता भर्खर ७ दिन पुरानो भएको छ । तर, दुवै टिमका लागि यो ‘गर या मर’ को स्थिति भइसकेको छ ।

समूह ‘सी’ मा पोल्यान्डविरुद्धको आफ्नो पहिलो खेल १–१ को बराबरी खेलेको मेक्सिकोका तिनै प्रशिक्षक मार्टिनो भन्छन्, ‘साउदी अरेबियाविरुद्धको नतिजा जस्तै भए पनि अर्जेन्टिनाले आफ्नो खेल्ने शैली फेर्ने छैन ।’ अर्जेन्टिनाका लागि भने पक्कै पनि केही परिवर्तन आश्वयक रहनेछ । अर्जेन्टिनी प्रशिक्षकका रूपमा लियोनल स्कोलानी पहिलोपल्ट गम्भीर संकटमा फसेका छन् । साउदीविरुद्ध पराजय बेहोर्नुअगाडि अर्जेन्टिनाले त्यसअघि हार्नै बिर्सेको थियो ।

त्यसैले उनको प्रतिक्रिया कस्तो हुने हो त्यो भन्नै सकिन्न । उनले पुरानै खेलाडी दोहोर्‍याउने छन् वा केही परिवर्तन गर्नेछन्, त्यो हेर्नलायक रहनेछ । उनी भन्छन्, ‘सम्हालेर अगाडि बढ्नुबाहेक अर्को कुनै विकल्प छैन । खेलप्रति हाम्रो नजर उस्तै रहनेछ । पहिलो खेलअगाडि सबैले हामीलाई बलियो मानिरहेका थिए, तर विश्वकपमा यस्तो नतिजा सम्भव हुने गर्छ । पहिलो खेलमा हामी जहाँ चुकेका थियौं, त्यसैलाई सच्याएर अगाडि बढ्ने विकल्प हो ।’ ekantipur.com

Leave a Reply