यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ। विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ।
८६ हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो। कुल खसेको मत सङ्ख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिक र सुरक्षाकर्मीलगायत अस्थायी मतदाताको हो।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार छ ९९ मत खसेकामा ४७ हजार छ सय १४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए। प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकामा ४७ हजार तीन सय ३२ मत सदर र दुई हजार छ सय ४६ अथवा ५.५९ प्रतिशत बदर भएको छ।
सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत बदर भएको छ। ४९ हजार चार सय ५० मत खसेकामा ४६ हजार चार सय ८० मत सदर र तीन हजार ६० मत बदर भएको छ। प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार सात सय आठ मत खसेकामा २७ हजार सात सय ४९ सदर र नौ सय ५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ।
प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकामा २० हजार दुई सय ६८ सदर र सात सय ४८ अथवा ३.६९ प्रतिशत बदर भएको छ। एउटै मतपत्रमा धेरै चिह्नमा छाप लगाएको, कुनै मतपत्रमा छाप नै नलगाई बाकसमा खसालेका, दुईवटा चिह्नको बीचमा छाप लगाएको, चिह्नको घेराभन्दा बाहिर सङ्केत गरेर धेरै मत बदर भएको छ।
प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन। चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा सङ्केत गर्नुका साथै पहिलो मतपत्रमै चार ठाउँमा सङ्केत गरेका थिए। प्रत्यक्षतर्फको तुलनामा समानुपातिकको मतपत्रमा सङ्केत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीले बताएका छन्। मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरुले चुनावी तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ।
प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको एक सय २९ वटा मतपत्र भेटिएको थियो। तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका–५ देवीस्थानको एक सय चार र रघुगङ्गा गाउँपालिका–५ झिको एकवटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन।
यद्यपि गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा बदर मतको दर कम देखिएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५४ हजार छ सय ७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो। खसेकोमध्ये ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत बदर भएको थियो।
विसं २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार पाँच सय ३७ मतदाता रहेकामा ४७ हजार चार सय ४९ मत खसेको थियो।
समानुपातिकको प्रतिनिधिसभातर्फ ४० हजार पाँच सय २६ र प्रदेशसभामा ४२ हजार छ सय १६ मत सदर भएको थियो। समानुपातिकको प्रतिनिधिसभातर्फ चार हजार छ सय ८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार सात सय ७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो। प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार दुई सय ८६ (४.८१) र दुईवटै प्रदेशसभामा एक हजार चार सय ८३ (३.१२) प्रतिशत मत बदर भएको थियो।रासस