सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको तर, सरकारी निकायले भने यसको नियमनमा बेवास्ता गरेको बताएका छन् ।

“बैंकिङ क्षेत्रको नियमन गर्ने राष्ट्र बैंकले सहकारी क्षेत्रलाई त्यत्तिकै छाड्न मिल्दैन,” साहारा सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले भने, “वाणिज्य बैंक र विकास बैंकको व्याजदरबारे तीन–तीन महिनामा निर्देशन दिन सक्ने राष्ट्र बैंकले सहकारी क्षेत्रको सन्दर्भ व्याजदरबारे बेवास्ता गर्नु राम्रो होइन ।”

सोही कार्यक्रममा बोल्दै सिद्धार्थ बैंक म्याग्दी शाखाका प्रमुख नारायण सापकोटा र प्रभू बैंकका प्रबन्धक विनोद केसीले सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा सहयोग गरेको धारणा राखेका थिए । केही सहकारीमा देखिएका समस्यालाई देखाएर सबै सहकारी बेठीक हुन् भन्ने धारणा बनाउनु उपयुक्त नभएको बताउँदै उनीहरुले विद्यमान ऐन कानुनको सीमाभित्र रहेर संस्था सञ्चालन गर्ने हो भने कुनै पनि समस्या नआउने सुझाव समेत दिएका छन् ।

सहकारीका कोषाध्यक्ष भगवान् ढुङ्गानाले आर्थिक तथा अध्यक्ष गोरखनाथ सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा गत आर्थिक वर्षमा राम्रो कारोबार गरेका उत्कृष्ट कारोबारकर्ताहरु चन्द्रबहादुर घिमिरे, उमानाथ शर्मा र रविना भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी विज्ञान विषय समूहबाट कक्षा १२ उत्तीर्ण गरेका शेयर सदस्य प्रभास सुवेदीलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो ।

गत आर्थिक वर्षमा ४३ करोड रुपैयाँको कारोबार गरेको सहकारीले छ करोड ३७ लाख निक्षेप तथा चार करोड ९२ लाख लगानी गरेको संस्थाका कोषाध्यक्ष भगवान् ढुङ्गानाले जानकारी दिए । साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोरखनाथ सुवेदीले कोरोना महामारीको समस्या, तरलता अभाव र अन्य समस्याका बाबजूद सहकारीले शेयर सदस्यलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी गराएका थिए ।

सदरमुकाम बेनीको क्याम्पसचोकमा २०६८ सालमा स्थापित साहारा बचत तथा ऋण सहकारी संस्थामा हाल १ सय ४२ जना शेयर सदस्यहरु रहेका छन्भने एक करोड १२ लाख रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, सञ्चालक समिति सदस्य रविप्रसाद शर्माको स्वागत तथा सचिव टेकप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न साधारण सभाको बन्दसत्रमा शेयर सदस्यहरुबीच अन्तरक्रिया गरिएको थियो ।

Leave a Reply