म्याग्दी र छिमेकी जिल्ला बागलुङ जिल्ला जोड्ने अग्लो झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुदै घुम्न जानेको भिड लाग्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरदेखि बागलुङ नगरपालिका–४,कुँडुले जोड्ने पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेपनि विभिन्न स्थानबाट पुलको अवलोकन गर्न जानेको दैनिकजसो भिड लाग्ने गरेको छ ।

३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाएको छ भने आन्तरिक पर्यटन प्रर्वधनमा समेत सघाएको पुलको अवलोकन गर्न गएका दिनेश बोगटीले बताउनुभयो । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज भएको छ भने नजिकै रहेका भानु माविमा अध्ययनरत विद्यार्थीलाई समेत सहज भएको भानु माविका प्रधानाध्यापक भरत खत्रीको भनाई छ ।

पुल बनेपछि दुई जिल्लाको सम्बन्धलाई झन सुमधुर बनाउनाका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कोसेढुङ्गा सावित भएको स्थानीयको भनााई छ । निर्वतमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा थानी हिमशिखर जेभीलेतीन करोड ५० लाखको लागतमा पुल निर्माण भएको बेनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिएको छ ।

उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँच गरिएपनि केही सामान्य काम अझै बाँकी रहेकाले तत्काल भिडभाड नगर्न समेत अनुरोध गरिएको छ । बागलुङ र म्याग्दीको धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रको प्रसारप्रसारमा पूर्वाधारको विस्तारले सहज भएको छ ।

Leave a Reply