Argentina's Lionel Messi is pictured during the Copa America football tournament quarter-final match against Venezuela at Maracana Stadium in Rio de Janeiro, Brazil, on June 28, 2019. (Photo by Pedro UGARTE / AFP)

विश्वकपबाट बाहिरिने खतराकाबीच अर्जेन्टिनाका हजारौँ समर्थक कतार विश्वकपको सबैभन्दा ठूलो लुसैल रंगशालामा उपस्थित हुँदा उनीहरूको मस्तिष्कमा एकमात्र खेलाडी थिए । फुटबलका लागि ‘पागल’ राष्ट्रको विश्वकप आशा लियोनल मेसीले बोकिराखेका थिए । तर, शनिबार रंगशालाको कानै खाने होहल्लापूर्ण वातावरणमा अर्जेन्टिनाको डरको स्तर अझै बढी  थियो । कारण, अर्जेन्टिना आफ्नो पुरानो प्रतिद्वन्दी मेक्सिकोविरुद्ध खेल्दै थियो । र, यही खेलले अर्जेन्टिनाको आगामी यात्रा तय गर्ने थियो ।

पहिलो खेलमा साउदी अरेबियासगको अप्रत्यासित हारपछि मेक्सिकोसँगको हारले विश्वकप यात्रा समूह चरणका दुई खेलपछि नै समाप्त हुनेबारे अर्जेन्टिनालाई थाहा थियो । यसको अर्थ विश्वकपको उपाधिसहित आफ्नो करियरलाई चम्किलो बनाउने सपना सामथ्र्यभन्दा परको कुरा बन्ने मेसी पनि जान्दथे ।

Leo Messi 11669557794.jpg

तर, फेरि एकपटक मेसीले अर्जेन्टिनाको ठूलो आशालाई काँधमा बोके । र, पुनः एकपटक अर्जेन्टिनालाई अत्यावश्यक रहेको समयमा जादुमयी प्रदर्शन प्रस्तुत गरे । अनि अर्जेन्टिनाको विश्वकप यात्रालाई अझै कायम राखे ।

घडीले ६४ मिनेटको समय देखाइसकेको थियो । चलिरहेको प्रत्येक सेकेन्डले अझ दबाब थपिरहेको थियो, अर्जेन्टिनामाथि अनि मेसीमाथि पनि । उनलाई थाहा थियो, विश्वकपको यो चरणमा हार बेहोर्नु न्यायोचित भएपनि वा नभएपनि मेसीको असफलतामा गनिन्छ ।

तर, मेक्सिकोलाई उनले बायाँ खुट्टाको जादुयी प्रभावको मुकदर्शक बनाए । यो प्रहारले उनका कैयौँ विरोधीहरूको मुख टालिदियो । एन्जल डी मारियाबाट आएको पासमा मेसीले पहिलो टचमा बललाई मिलाए । दोस्रो टचमा आएको प्रहारले सोझै ‘बटम कर्नर’ को जाली चुम्यो । मेक्सिकोका गोलकिपर गुर्येमो ओचाअको बायाँ हात पूरै तन्किएपनि उनले बल बचाउन सकेनन् ।

यो गोलसँगै अर्जेन्टिनाको समर्थकबाट प्रस्फुटन भएको खुसीको ठूलो हल्लासँगै मेसी दुई हात फैल्याउँदै उनीहरूकै नजिक दौडिए । जुन मेसीको गोलपछि हुने स्वभाविक ‘सेलिब्रेसन’ थियो ।

मेसी निकै भावुक रूपमा केही राहत महसुस गरिरहेको देखिन्थे । टिमका सहकर्मीले उनलाई घेरेका थिए । टिमका सबैभन्दा धेरै भरोसा गरिएका खेलाडीले एकपटक फेरि अर्जेन्टिनालाई खेलमा अघि राखेका थिए ।

खुसीयाली केही कम भएपछि मेसी समर्थकको अघि उभिए । उनलाई थाहा थियो, समर्थकका लागि यो कत्ति महत्वपूर्ण छ भन्ने । अनि समर्थक पनि मेसीको महत्वबारे राम्रो जानकार थिए । यो दुवैका लागि पारस्परिक आनन्दको अनुभव थियो ।

सर्वश्रेष्ठ खेलाडीले चाहिने बेला नै नतिजा दिने गर्दछन् र मेसीले त्यस्तै अवस्थामा अर्जेन्टिनालाई अग्रता दिलाउँदा त्यहाँ अचम्म मान्नुपर्ने कुनै कारण छैन ।

खेलको यो क्षणअघि मेक्सिकोविरुद्धको रात मेसीका लागि सहज थिएन । पहिलो हाफमा मेसीको प्रदर्शनलाई मेक्सिकोले रोकेर राखेको थियो । उनले पहिलो हाफमा प्रभाव पार्न सकेनन् ।

अर्जेन्टिनाको विश्वकपमा आगामी यात्राको सम्भावना कायम हुनु मेसीको प्रेरणादायी प्रदर्शनको उपज थियो । जो यो टिमका सुरक्षा कवज बनेका छन् । र, इन्जो फर्नान्डेजले ८७औँ मिनेटमा उत्कृष्ट दोस्रो गोल थपे ।

यो खेल हेर्नका लागि लुसैल रंगशालामा ८८ हजार ९ सय ६६ दर्शक उपस्थित थिए । जुन सन् १९९४ मा भएको विश्वकपको फाइनल खेलपछिकै सबैभन्दा ठूलो दर्शक संख्या थियो । खेलको अन्तिम ‘ह्विसिल’ बजेपछि पनि लगभग एक घण्टासम्म समर्थकहरू आफ्नो टिमको खुसीमा साथ दिन रंगशालामा बसेका थिए । विशेषगरी मेसीको खुसीमा साथ दिन ।

मेसीले अर्जेन्टिनाको विश्वकप सम्भावनालाई बचाइराखे । उनीहरूलाई अझै पोल्यान्डविरुद्ध जितको खाँचो छ । पोल्यान्ड, जोसँग आफ्नै राष्ट्रिय स्टार स्ट्राइकर रोबर्ट लेवान्डोवस्की छन् । तर, मेसीको बायाँ खुट्टाको एक उत्कृष्ट प्रहारले अर्जेन्टिनाको विश्वास बढाएको छ ।

“हामी अहिल्यै हार मान्न सक्दैनौँ,” मेसीले भने, “हामीले खेल्ने सबै खेलहरू फाइनलसरह हुन् । हामीलाई अब गल्तीका लागि छुट छैन । हामीलाई जित्नैपर्छ भन्ने थाहा थियो । हाम्रा लागि छुट्टै विश्वकप सुरु भएको थियो र यसमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने हामीलाई थाहा थियो ।”

उनको यो अन्तिम विश्वकपको हो भन्ने मेसीलाई थाहा छ । मेसीका लागि फुटबलको त्यो माथिल्लो प्रतियोगिता, जसको उपाधि जित्न बाँकी नै छ । मेसीले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँगको हारको सामना गरेका थिए । विश्वकपको उपाधिका लागि मेसीको यो सबैभन्दा नजिकको अवसर थियो ।

मेसीले आफ्नो करियरमा चार च्याम्पियन्स लिग, सात बालोन डी‘अर र बार्सिलोनाबाट १० ला लिगाको उपाधि जितेका छन् । हालको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट एक लिग वानको उपाधि जिते पनि मेसीले फ्रेन्च क्लबबाट ठूलो उपाधि जित्न बाँकी नै छ ।

पछिल्लो वर्ष, मेसीले आफ्नो लामो खडेरी तोड्दै अन्तर्राष्ट्रिय उपाधि जितेका थिए । महादेशीय प्रतियोगिता कोपा अमेरिकाको उपाधि जित्दा अर्जेन्टिनाले फाइनलमा आयोजक ब्राजिललाई हराएको थियो । मेसीका करियरमा विश्वकपको उपाधि थपिन अझै बाँकी छ र यो नै उनको अन्तिम मौका हो ।

उपाधिका लागि अर्जेन्टिनाले अझै विश्वस्त बन्न सकिने प्रदर्शन देखाउन सकेको छैन । विश्व वरीयताको तेस्रो स्थानलाई न्याय गर्ने ‘फर्म’ अर्जेन्टिनाले अझै देखाउन सकेको छैन र अझै पनि विश्वकबाट बाहिरिने खतरा कायमै छ । बुधबार पोल्यान्डविरुद्ध खेल्दा अर्जेन्टिना जित्नैपर्ने दबाबमा हुनेछ ।

तर, अहिलेका लागि भने अर्जेन्टिनाको विश्वकप ‘शो’ पुन लयमा फर्किएको छ । किनभने जहाँ मेसी छन्, त्यहाँ आशा छ । Source: b

Leave a Reply