नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको आयोजनामा आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा तथ्याङ्क सङ्कलनसम्बन्धी गोष्ठी सम्पन्न भएको छ । आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क सङ्कलनका समस्यासम्बन्धी गोष्ठीमा अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय देशमा विदेशी विनिमय सञ्चितीले ८ महिनाका लागि वस्तु तथा सेवा धान्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले अब विस्तारै कर्जा लगानी बढाउनुपर्ने र व्याजदर कम गरेर अगाडि बढ्नुपर्ने भन्दै तथ्याङ्क सङ्कलनको कार्यमा आउँदा दिनमा पनि आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका उपनिर्देशक रामकुमार कार्कीले आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क सङ्कलनका समस्याहरुको विषयमा वार्ता प्रस्तुत गर्नुभएको थियो । वार्ता प्रस्तुत गर्दै उहाँले राष्ट्र बैंक नपुगेको ठाउँमा नोट कोष पुगेको बताउँदै सही र आधिकारिक तथ्याङ्क उपलब्ध गराउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले सबैखाले तथ्याङ्कहरु सही, शुद्द र समयमै आउनुपर्ने भन्दै तथ्याङ्क उपलब्ध गराउने कार्यमा सम्बन्धित सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत मदन सुवेदीले वन क्षेत्रलाई कृषिभन्दा अलग्गै राख्दा वन क्षेत्रले पु¥याउने योगदानको स्पष्ट किटान हुने भएकाले तथ्याङ्क सङ्कलनको क्रममा वन क्षेत्रलाई बढावा दिनुपर्ने बताउनुभयो । पर्वतका सहायक वन अधिकृत पूर्णप्रसाद भारतीले सामुदायिक वन उपभोक्ता समूहहरुले वनपैदावरहरुको उपयोग गर्दै आइरहे पनि त्यसको तथ्याङ्क नराख्दा कठिनाई भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक सम्झना शर्माले कार्यालयमा कर्मचारीको अभावले कार्यबोझ थपिँदा तथ्याङ्क सङ्कलन तथा सम्प्रेषणमा समस्या भएको बताउँदै जलवायु परिवर्तनले कुनै फलफुल तथा कृषि बाली समयभन्दा अगावै र पछाडि पाक्ने, छिटो हुर्कने बोटविरुवाको छहारीले कृषि उत्पादनमा ह्रास आएको हुँदा यसबाट तथ्याङ्क सङ्कलनमा समेत असर पुगेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले अस्थायी तथा करारका कर्मचारी, दरबन्दीमा भएर पनि विदेश पढ्न गएका, बेतलबी विदामा बसेका कर्मचारी र विनादर्ता सञ्चालित स्वास्थ्य क्लिनीहरुको तथ्याङ्कलाई समावेश गर्न सहज नभएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले शिक्षा क्षेत्रको तथ्याङ्क सङ्कलन, विश्लेषण र सम्प्रेषणमा कुनै समस्या नभए पनि निजी विद्यालयहरुले भने तथ्याङ्क दिन अटेरी गर्ने गरेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदी, कुश्मा नगरपालिका पर्वतका स्थानीय कर्मचारी ध्रुवराज पौडेल, शिवालय बहुमुखी क्याम्पस पर्वतका आशिष पौडेल, एकता सहकारी बागलुङका प्रवन्धक दिपक भण्डारीले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा उठेका जिज्ञासा तथा प्रश्नको राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेलले जवाफ दिनुभएको थियो ।

Leave a Reply