म्याग्दी र  बागलुङ जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर देखि  बागलुङ नगरपालिका–४ कुडुले फाँट जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोटिएको छ।

झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलु‌ंगे पुल थपिएको एक वर्षमै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी ३८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो।

कुडुलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरण मात्रै बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। ‘बागलुङ र म्याग्दी जिल्ला जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ’, खड्काले भने, ‘पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ।’

संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो।

कुडुँलेदेखि रत्नेचौर जोड्ने झोलुंगे पुल तीन करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको हो। पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए। अब रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजार लैजान र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज भएको क्षत्रीको भनाइ छ।

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न भएको हो। गत असार मसान्तभित्र काम सक्नेगरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो। पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार–व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ। बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसंग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयको भनाई छ। बेनीको रत्नेचौर र बागलुङको कुडुले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकरुको घुइँचो लाग्ने गरेको छ। पुल निर्माणसँगै पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरेको स्थानीय टेकबहादुर रावलले जानकारी दिए।

पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम संग्रहालय अवलोकन गर्न आउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानका बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोवारका लागि बागलुङ आउने भएकाले दुई जिल्लाबीच दूरी छोटाउन पुल निर्माण गरिएको  हो।

Leave a Reply