बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने  दोसल्ले गाउँ ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ ।

“हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भनिन्, “गत वर्ष ४ लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले ४ लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।”

दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् ।

भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा  दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् ।

“पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भनिन्, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।”

सुन्तला खरिद गर्न काठमाडौं, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्छन्, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।”

यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ का दरले सुन्तला खरिद गर्छन् ।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार ५ सय किलो सुन्तला निकासी हुँदा ७५ लाख रुपैयाँ गाउँमा भित्रिएको र यस वर्ष करिब २ सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब २ करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिए ।

Leave a Reply