फिफा विश्वकप २०२२ अन्तर्गत आजसमूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदीको ३-३ अंक छ। पुछारको मेक्सिकोको १ अंक छ। 

अर्जेन्टिनाले अन्तिम १६ पुग्न जित निकाल्नै पर्छ। मेक्सिको र साउदी अरेबियाले बराबरी खेलेमा अर्जेन्टिनालाई पनि बराबरी पर्याप्त हुन सक्छ। यद्यपी साउदी अरेबियाले जित निकालेको अवस्थामा बराबरी खेलेको अर्जेन्टिना बाहिरिनेछ।  हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ।

अर्जेन्टिनाले नेपाललाई  घृणा गर्छ ?

अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरोप लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा जलाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखाहरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।

यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् । यसै गरी लुइस गोन्जालेजले भने अर्जेन्टिनी युवाहरू गोरखाहरूबारे अपरिचित रहेको भन्दै गोरखाहरू किन अरूका लागि लड्न गर्व गर्छन् भनेर चाहिँ आश्चर्य लागेको लेखेका छन् ।

रोड्रिगो हेरान्ज लेख्छन् ‘म अर्जेन्टिनाको हुँ र मेरो सहर फकल्यान्ड जसलाई यहाँ मालभिनास भनिन्छ । मैले गोरखाहरूको बारेमा कहिल्यै सुनेको थिइनँ । त्यस कारण उनीहरूका बारे मैले गुगलमा खोज्नुपर्‍यो । त्यसैले मैले के भन्न सक्छु भने मेरो देशका बहुसङ्ख्यक जनताले गोरखा को हुन् भनेर जानेका छैनन् । त्यसैले हामी उनीहरूलाई घृणा गर्न सक्दैनौँ ।

इलाइजर लेख्छन् ‘म अर्जेन्टिनाको हुँ, र म त  केही पनि जान्दिनँ  गोरखाहरू के हुन् ? खासमा मैले नेपाल पनि कहाँ पर्छ भनेर जाँच गरेँ । भारतको नजिक रहेछ । यसले के प्रस्ट पार्दछ भने अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भन्ने आरोपको आधार छैन । वास्तवमा यो हल्ला विश्वकप फुटबलको बेला नेपालमा ब्राजिल समर्थकहरूको भीडले बढी उच्चारण गरेकोले घनीभूत भएको हो ।’ यो हल्ला नेपालमा पछिल्लो विश्वकपमा नै किन बढी चर्चामा थियो भने अर्जेन्टिना र ब्राजिल फाइनलमा भिड्नेछन् भन्ने फुटबल पण्डितहरूको आँकलन थियो ।

नेपाल-अर्जेन्टिना सम्बन्ध

नेपाल र अर्जेन्टिनाबीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन्। नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए ।  अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ । सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

Leave a Reply