अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम

On: November 30, 2022 7:53 PM
Follow Us:
---Advertisement---

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (बुधवार) म्याग्दीको सदरमुकाम बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित मंगला आमा समूहको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले २१औं शताब्दीको समयमा आएर पनि अझै समुदायस्तरमा लिङ्गको आधारमा हिंसा र भेदभाव हुने गरेको बताउँदै जुनसुकै हिंसालाई पनि व्यक्ति, परिवार तथा समुदाय मिलेर न्युनीकरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रवाह हुने सेवासुविधा, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्गिक हिंसा र कानुनी प्रावधान, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले प्रजनन् स्वास्थ्य, धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले हिंसामा महिला आन्दोलनको इतिहास तथा अधिकारकर्मी जमुना आचार्यले आर्थिक सशक्तिकरणको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको विशिष्ट आतिथ्य रहेको कार्यक्रम मंगला आमा समूहका अध्यक्ष टकसरा रानाको अध्यक्षता, सदस्यद्वय शर्मिला पुनको सञ्चालन र शान्ति पौडेलको स्वागतमा सम्पन्न भएको थियो । सामाजिक विकास कार्यालयको समन्वय तथा सहकार्यमा सञ्चालित यस कार्यक्रमको मिलन म्याग्दी, महिला अधिकार मञ्च र फेकोफोन म्याग्दीले समन्वय गरेका थिए ।

नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आइएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।