आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर ठगिने सम्भावना लगायत विभिन्न समस्यालाई न्यूनिकरण गर्न म्याग्दी पुस्तकालयले समुदायस्तरमा विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धि सचेतना कार्यक्रममार्फत स्कुले विद्यार्थीलाई समेत अभियानमा जोडेको हो ।

बुधबार म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित कार्यक्रममा बेनी सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ३३ जना विद्यार्थीलाई वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ?, बैदेशिक रोजगारको सिलसिलामा कुनै बाधा अड्चन आयो भने क्षतिपुर्ति सहित कसरी सुरक्षित फिर्ता हुन सकिन्छ ? कानुन बिपरीत दलालको फन्दाबाट कसरी जोगिने ? लगायत विविध विषयमा जानकारी गराइएको पुस्तकालयकी प्रमुख भुजु कटुुवालले बताउनुभयो ।

परियोजनाकी सामाजिक परिचालक समेत रहनुभएकी कटुवालले विदेश जाँदा मानवतस्कर सहित अन्य विविध विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको बताउनुभयो । सोही अवसरमा बेनी सामुदायिक माविका सहायक प्रअ एवम् सामाजिक विषयका शिक्षक काशिराम सुबेदीले सामाजिक विषयबस्तुमा विद्यार्थीको ज्ञान र सिपले परिवार र समुदायमा ठूलो सहयोग मिल्ने बताउनुभयो ।

परियोजना अन्तरगत हालसम्म बैदेशिक रोजागरीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सिप मुलक कार्यहरु गरेका, समुदायमा फरक पेशामा आवद्ध भएका लगायत परियोजनाले लक्षित गरेको क्षेत्रमा कार्यक्रम गरिएको छ ।

 

Leave a Reply