अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा जनस्तरबाट बनाइएको ‘पुन समुदाय सङ्ग्रहालय’को उद्घाटन गरिएको छ। पुन समुदायको जीवनशैली झल्काउने उद्देश्यले ‘करबाकेली बाबा संरक्षण समिति’ले बनाएको सङ्ग्रहालय उद्घाटन सगरमाथा आरोही एवं चलचित्र अभिनेत्री दिया पुनले मंगलबार गरेकी हुन्।

ढुंगा र काठबाट परम्परागत शैलीमा बनाइएको दुई तले भवनमा पुन समुदायको जन्मदेखि मृत्यू संस्कार झल्कने सामाग्री सजाइएको छ। यसको माथिल्लो तलामा पुरातात्विक महत्वका सामान राखिएको छ भने भुइँतलामा जाँतो, ढिकी, कोल आदि सजाइएको छ। भुइँतलामै पुस्तकालय कक्ष पनि छ जहाँ बसेर पुनको चिनारी, नेपालका जातजातिको इतिहास, संस्कृती र जीवनशैली अध्ययन गर्न पाइन्छ।

सङ्ग्रहालयमा पुन समुदायका कीर्तिमानी खेलाडीहरू निर्मल पुर्जा, तारा पुन, सगरमाथा आरोही एवं नायिका दिया पुनलगायत समाजसेवीहरूको चिनारीसहित तस्बिर पनि सजाइएको छ। यसरी मुलुकका लागि योगदान दिने प्रतिभाहरूको सम्मान गरिएको हो।

सङ्ग्रहालय बनाउन करिब ८० लाख रुपैयाँ खर्च भएको छ। यसका लागि म्याग्देलीले सहयोग गरेका हुन्। यसमा अन्नपूर्ण गाउँपालिकाले ५ लाख र गण्डकी प्रदेश सरकारले ५ लाख रुपैयाँ मात्र सहयोग गरेका छन् बाँकी सबै जनस्तरबाटै सहयोग प्राप्त भएको हो।

‘एउटा समुदायको पहिचानका लागि हरेक चिज चाहिन्छ। थान मात्र बनाएर पुग्दैन, सङ्ग्रहालय पनि चाहिन्छ भन्ने सोचले हामीले सङ्ग्रहालय बनाएका हौं’, सङ्ग्रहालय निर्माणका अगुवा चामबहादुर पुनले भने।

वि.स. २०७६ वैशाख ९ गतेबाट संग्रहालय निर्माण शुभारम्भ गरिएको थियो। त्यअघि सङ्ग्रहालय नजिकै करबाकेली थान र सामुदायिक पाहुना घर पनि बनाइएको थियो।

सङ्ग्रहालयको सांस्कृतिक महत्व त छँदैछ, करबाकेली पदमार्गमा पर्ने भएकाले यसबाट धेरै पर्यटकले पनि लाभ लिन सक्छन्। करबाकेलीलाई केन्द्रमा राखेर पुनहिलदेखि करबाकेली हुँदै म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्राण्डिङ गरिएको छ।

करबाकेलीलाई कुल देवताका रुपमा पूज्नेहरूले मात्र होइन, यस पदमार्गमा यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूका माझमा पनि सङ्ग्रहालय आकर्षक पर्यटकीय प्रोडक्ट बन्ने देखिन्छ।

पुन संस्कृति अध्ययन गर्न चाहनेका लागि सङ्ग्रहालय महत्वपूर्ण तीर्थ बन्ने छ।

धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले समेत करबाकेली क्षेत्र सुन्दर छ। करबाकेली थानबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसहित वरपरका गामबेसीको मनमोहक दृश्य देखिन्छ।

धुमधामसँग करबाकेली पूजा 


मंसिर १३ गते पहिलो उजेली मंगलबारका दिन काफलडाँडाको करबाकेली थानमा ठूलो मेला लाग्यो। एकातिर कुलपूजा र अर्कातिर सङ्ग्रहालय उद्घाटन एकै दिन थियो। सेरोफेरोका गाउँ र बेलायतदेखि आएका तिर्थालुले करबाकेली बाबाको दर्शन गरे। करबाकेलीले मनोकामना पुरा गरिदिने जनविश्वास छ। करबाकेलीबाबाले बलि लिँदैनन् तर उनका छोराहरू रामचन र कुलचनलाई बलि चढ्छ। त्यसैले तिर्थालुले त्यहाँ भेडाको साँढ पनि चढाए।

गाउँगाउँबाट पुख्र्यौली नाचसहित आएर गाउँलेहरू धुमधामसँग नाचेका थिए। मंगलबार र बुधबार दिनभर करबाकेली हातामा पुख्र्यौली नाचले सबैलाई मन्त्रमुग्ध बनायो। साथमा कृष्ण कँडेलको इन्द्रेणी टिमको साँस्कृतिक कार्यक्रम पनि छँदै थियो।

करबाकेली बाबा संरक्षण समितिलेको व्यवस्थापनमा भएको कार्यक्रममा गाउँलेको भिड लागेको थियो।

समाजसेवीको प्रतिमा अनावरण 


बेलायती सेनाबाट निबृत भएपछि करबाकेली बाबाको अनुसन्धानका साथै यस क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय पूर्वाधार विकासको नेतृत्व गर्दै आएका समाजसेवी चामबहादुर पुनको अर्धकदको प्रतिमा निर्माण गरिएको छ।

करबाकेली थान क्षेत्रमा निर्माण गरिएको प्रतिमाको पुन समाज नेपालका अध्यक्ष भिमबहादुर पुनले अनावरण गरेका छन्।

बेलायतमा बसोबास गर्दै आएका अतिप्रसाद पुन, गिरबहादुर पुन र मूर्तिकार धनु याख्याको आर्थिक सहयोगबाट मूर्ति निर्माण गरिएको करबाकेली बाबा संरक्षण समितिले जनाएको छ।

यसरी जन्मथलोको विकासमा अतुलनिय योगदान पुर्‍याउने समाजसेवीको सम्मानस्वरुप बनाइएको प्रतिमा अनावरणमा उपस्थित गाउँलेहरूले ताली बजाएर स्वागत गरेका थिए।

हेर्नुहोस् थप तस्बिरहरू

Leave a Reply