म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले समयमै काम नगर्दा योजना अलपत्र परेको हो ।


आयोजनाको थप भएको समयमा समेत निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगंगा गाउँपालिका वडा नम्वर २ र ३ को वडाका जनप्रतिनिधिले पुर्वाधार विकास कार्यालय पुगेर ध्यानकर्षण पत्र बुझाएका छन् । वडाअध्यक्षद्धय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्रे गर्ने  कार्यलाई छिटो भन्दा छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानकषर्ण पत्र बुझाएका हुन् ।

ध्यानकर्षण पत्रमा– निर्माण कम्पनीको लापरबाहीले कालोपत्रे गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेको कारण समन्वय गरेर काम अघि बढाउन उल्लेख गरेका छन् । निर्माण कम्पनीलाई सडक कालोपत्रे गर्ने क्रममा कुनै समस्या आएमा वडा कार्यालयले आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिवद्धता कार्यालय समक्ष राखेका छन् ।

पुर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले पिप्लेदेखि भगवती सम्मको सडक कालोपत्रकोे काम तत्काल अगाडी बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए । ‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटक पटक पत्र काटेका छौँ, यही महिनाको अन्तिमबाट काम सूचारु हुन्छ’, अधिकारीले भने । पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्रे गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका कामहरु गरेर अलपत्र छोडेको थियो ।

भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।

Leave a Reply