के तपाईँले कहिल्यै बर्खामा निलो र हिँउदमा रातो हुने ताल देख्नुभएको छ ? सायदै देख्नु सुन्नुभएको छ । रातको समयमा निलो ढुङ्गा जस्तै चम्कने इन्डोनेसियाको ‘कावाह इजेन’ नामको तालको कुरा सुन्नुभएको छ होला । त्यो विश्वको सबैभन्दा रहस्यमय तालको रूपमा चिनिन्छ । तर आज म तपाईँलाई त्यो भन्दा पनि रहस्यमय मालिका गाउँपालिकाको देविस्थान–५, दाङ्गामा पर्ने गाईखर्कको तालमा लुकेको एउटा रहस्यको बारे कुरा सुनाउँछु ल ?
सामान्यतया पानी रंगविहीन हुने भए पनि जुनकुनै तालको पानी निलो देखिन्छ तर म्याग्दीको देविस्थान ५ दाङ्गामा रहेको तालकोे पानी रगतजस्तै रातो छ । जो कोहिलाई झट्ट विश्वास गर्न कठिन हुन्छ तर यो सत्य हो । कतै पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क। हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो ।
यस तालको सबैभन्दा ठूलो विशेषता यो हो कि वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रगत जस्तै रातो रङ्गको हुन्छ । एल्गी र ब्याक्टोरीयको कारण हिउँदमा तालको पानी रातो हुने म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए । उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सको कारणले रातो बनाउने युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकको तर्क छ । तालको छेउमै बराह देवताको मन्दिर रहेको छ । ती देवताको पुजा गर्दा सन्तान प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट धार्मिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।
म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिने यो ताल समुन्द्रि सतहदेखि करिब २४ सय मिटरको उचाइमा अवस्थित छ । मालिका गाउँपालिकाको देविस्थान ५ मा पर्ने दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा बसेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको छ । पालिको सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन ।
बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा बनभोजको लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । फेवातालको आगनमा जसरी माछापुच्छ्रेको छायाँ पर्छ त्यस्तै गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमाल पौडि खेलेको देख्न सकिन्छ ।
प्राकृतिक एवं आध्यात्मिक भूमि मालिका ५ देविस्थान आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएको ऐतिहासिक थलो हो । यहाँ भन्दा प्राचिन पहाड, सेताम्य हिमालहरु, पहाडी बस्तीमा रमाउनेहरुका लागि पृथ्वीमा कुनै ठाँउ छैन् । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठुल दह, जंगले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा , धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्यि पर्यटकको तन मन हर्ने रहेछन् । गौ बोम बस्त विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले तालसम्म पुग्ने बाटो व्यवस्थीत भएमा, होटल वा हामे स्टे भएमा र मनोरञ्जनको व्यवस्था गरिएमा भाले बास्ने तालसरह गाईखर्क पनि महत्व बढ्ने दावी गरे ।
तालको अवलोकन गर्न शुत्रबार कक्षा नौ का विद्यार्थी सहित पुगेका गौ बोम बस्त माविका सामाजिक शिक्षक, लेखक तथा पत्रकार प्रकाश अधिकारीले तालको सुन्दरताले मन लोभ्याएको भन्दै यसको थप प्रचारप्रसार आवश्यक भएको उल्लेख गरे । ‘विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ ।
यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ ।’ अधिकारीले भने । ‘यहाँ पर्यटक भित्रर्याउन प्राकृतिक रूपमा कुनै अभाब छैन, पर्यटन विकासमा न्यूनतम आधारहरू बारे प्रचारप्रसार गर्ने र यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरि पर्यटन विकास मार्फत ग्रामीण वस्तीको मुहार फेर्न सकिने उनको भनाई छ ।
कसरी पुग्ने : काठमाडौं–बेनी २८२, बसमा १० घन्टा हिँडेपछि मायालुको शहर बनी आइपुगिन्छ । बेनी–दरबाङ २३ किमि, बसमा २ घन्टा हिँडेपछि पश्चिम म्याग्दीको केन्द्र दरबाङ आइपुगिन्छ । दरबाङ करिब ९ किमि जिपमा कच्ची सडकको यात्रा गरेपछि घरिथोक झर्न सकिन्छ । हाडिस खोलादेखि तालसम्म पुग्न ३० मिनेट उकालो पदयात्रा गर्नुपर्दछ ।