म्याग्दीमा माध्यामिक तहमा निकै लोकप्रिय जेसिज कप फुटवल प्रतियोगिता यही मंसिर २१ गतेदेखि २५ गतेसम्म बेनीस्थित खुल्लामञ्चमा संचालन हुने भएको छ ।

म्याग्दी जेसीजको मूल आयोजनामा ‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन”’भन्ने मुल नाराका साथ ‘गौमती खत्री विकास कोष’ २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको आईतबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

मंसिर २० गते उद्घाटन हुने प्रतियोगिताको पुरस्कार ब्यवस्थापन, खुल्लामञ्चको खेलमैदान मर्मत, विद्यालयलाई पत्राचार लगायतकोकामहरु १७ वटा उपसमितिहरुबाट तयार गरिएको प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँले बताए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिज अध्यक्ष सन्दिप खत्रीले बताए ।

‘विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ’ अध्यक्ष खत्रीले भने । उनले म्याग्दीमा फुटबल प्रतिभाको पहिचान गर्ने लोकप्रिय प्रतियोगिता भएकाले यसपटक थप ब्यवस्थित बनाइएको बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७ सय ७७ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगितामा २० देखि २२ विद्यालयको सहभागिता हुने अनुमान गरिएको छ ।

खेल खेल्ने क्रममा घाईते हुने खेलाडीको उपचारका लागि म्याग्दी जेसिजले दुर्घटना विमाका साथै स्वास्थ डेक्स सहित खेलाडीलाई आवश्यक पर्ने विभिन्न क्षेत्रमा प्रायोजकले जिम्मा लिएका छन् । म्याग्दी जिल्लामा माविस्तरीय फुटबल प्रतियोगिताबाट खेलाडीको उत्पादन तथा क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलसम्म पुग्न सहज भएको छ ।

Leave a Reply