पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको दिच्याममा बिहीबार कानुनी साक्षरता एवं प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दी र महिला अधिकार मञ्च म्याग्दीको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

मालिका गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहकार्य, सुआहारा कार्यक्रम दोस्रो, फेकोफोन म्याग्दी, प्रगतिशिल र मिलीजुली आमा समूह दिच्यामको सहकार्यमा कार्यक्रम भएको थियो । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित सञ्चालित सचेतना कार्यक्रमको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा गरेको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता जनाउँदै व्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले लैङ्गिक हिंसामा महिला आन्दोलनको भूमिका, जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले कानुनी सचेतना, बालविवाह न्युनीकरण र समुदायमा सरकारी वकिल कार्यक्रमको विषयमा सहजीकरण गर्नुभयो ।

यसैगरी बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले अस्पतालमा स्थापना भएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत उपलब्ध सेवा सुविधाबारे जानकारी गराउँदै प्रजनन् स्वास्थ्यसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी सुआहारा कार्यक्रम म्याग्दीका विज्ञ बालकुमारी पुनले सुआहारा कार्यक्रम र स्वास्थ्यमा पोषणको महत्वसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । प्रगतिशिल आमा समूहका अध्यक्ष ओमकुमारी फगामीको अध्यक्षता, मालिका गाउँपालिकाका सहायक महिला विकास निरीक्षक दिक्षा पौडेलको स्वागत र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य गौमती चापागाईँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, दरबाङका वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य छरदेवी रोका र वडा सदस्य सरदेवी दर्जीको उपस्थिति रहेको थियो । सोही अवसरमा गाउँपालिकामार्फत दिच्यामका गरिब घरधुरी पहिचान भएका स्थानीयलाई गरिब तथा विपन्नताको परिचयपत्र समेत वितरण गरिएको थियो ।

नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आइएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । यसवर्ष ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नारासहित नेपालमा विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन भैरहेको छ ।

Leave a Reply