फिफा विश्वकप २०१८ मा रसियाको काजान एरिना रंगशालामा अर्जेन्टिना र फ्रान्सबीच अन्तिम १६ को खेलमा प्रतिस्पर्धा भएको थियो। फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिनाको विश्वकप फाइनल खेल्ने सपना चकनाचुर भएको थियो।

अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई आलोचनाको घेरामा राख्दा फ्रान्सका १९ वर्षीय खेलाडी केलियन एमबाप्पे चर्चामा आएका थिए। उनी फुटबलको अर्का स्टार खेलाडी बनेका थिए।

अर्जेन्टिना यो खेलमा ४-३ ले पराजित भयो र एमबाप्पे फ्रान्सका लागि यो खेलको फिनिसर बनेका थिए।

एमबाप्पेको सबैभन्दा ठूलो हतियार उनको गति हो। उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ। उनी लगभग ३५ किलोमिटर प्रति घण्टाको औसत गतिमा दौड्छन्।

उनको गतिलाई चुनौती दिनेहरू पनि छन्, तर एमबाप्पेसँग गोल गर्ने गति र क्षमता छ अरु खेलाडीको भन्दा फरक किसिमको छ।

एमबाप्पेलाई ब्राजिलका चर्चित फुटबलर पेलेसँग तुलना गरिएको थियो, जसले १७ वर्षको उमेरमा १९५८ को विश्वकपमा आफ्नो जादू देखाएका थिए।

अहिले चार वर्षपछि एमबाप्पे कतारमा आफ्नो बारेमा यो दाबी सहि साबित भएको देखिन्छ।

२३ वर्षीय एमबाप्पेको टोली फ्रान्सले आइतबार फिफा विश्वकप फुटबलको प्रि-क्वार्टरफाइनल खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।

खेलमा एमबाप्पेले ७४ औं र ९० औं मिनेटमा गरी दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण योगदान दिए।

जिनेदिन जिदान, मिशेल प्लाटिनी, थियरी हेनरी जस्ता धेरै स्टार खेलाडीहरू फ्रान्सेली टोलीले देखेको छ।

तर यस पटकको विश्वकपमा जिरुड र एम्बाप्पे टिमका खेलाडी हुन्, जो जबरदस्त फर्ममा छन्। अझ एमबाप्पेले मैदानमा जादू चलाइरहेका छन्।

आइतबारको पोल्याण्डविरुद्धको खेलमा एमबाप्पेले दुई गोल मात्र गरेनन्, जिरुडलाई पहिलो गोल गर्न पनि पास दिए।

सन् २०१८ को विश्व च्याम्पियन फ्रान्सले क्रोएसियालाई फाइनलमा ४–२ ले हराएको थियो। यो खेल पनि उनले गोल गरेका थिए।

पोल्याण्डविरुद्धको दुई गोलसँगै एमबाप्पेले विश्वकपमा ९ गोल गरिसकेका छन्।

यो गोल क्रिस्टियानो रोनाल्डोको भन्दा धेरै हो भने मेसीसँग बराबर हो। मेसीले विश्वकपमा अहिलेसम्म २३ खेलमा ९ गोल गरेका छन्। एमबाप्पेले सन् २०१८ को पहिलो विश्वकपमा चार गोल गरेका थिए। ्पेरुविरुद्ध पहिलो गोल गर्दै उनी विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छो खेलाडी बनेका थिए।

कतारमा एमबाप्पेले अष्ट्रेलिया विरुद्ध आफ्नो पहिलो गोल गरे। फ्रान्सलाई डेनमार्क विरुद्ध २-१ ले जित दिलाउन आफ्नो बलियो फर्म जारी राखे। यस खेलमा दुवै गोल एमबाप्पेले गरेका थिए।ट्युनिसियासँगको खेलमा फ्रान्स ०-१ ले पराजित हुँदा फ्रान्सेली प्रशिक्षकले एमबाप्पेलाई बेन्चमा राखेका थिए।

भर्खरैको पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो विश्वकपको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आफूले लगातार दोस्रो पटक उपाधि उचाल्न चाहेको बताए।

उनले भने, ‘यो मेरो सपनाको प्रतियोगिता हो। यसमा खेल्न पाउँदा म भाग्यमानी छु, पूरै सिजन यसका लागि शारीरिक र मानसिक रूपमा तयार छु। अहिलेसम्म यो प्रतियोगिता राम्रो चलिरहेको छ, तर पनि हामी धेरै पछाडि छौं। हामीले हाम्रो टोलीको लागि सेट गरेको लक्ष्य र मैले आफ्नै लागि सेट गरेको छु। र त्यो यो उपाधि जित्नु हो।’

यस विश्वकपमा एमबाप्पेले जम्मा पाँच गोल गरेका छन् भने मेसीले तीन र क्रिस्टियानो रोनाल्डोले एक गोल मात्र गरेका छन्।

यस्तो अवस्थामा विश्लेषकहरुले उनलाई भविष्यको ‘फुटबल स्टार’ मान्न थालेका छन्। रोनाल्डो र मेसीपछि एम्बाप्पेमा मात्रै त्यो कदको स्टार खेलाडी बन्ने सम्भावना रहेको बताइएको छ।

आइतबार फ्रान्स र इंग्ल्याण्डबीच विश्वकपको दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ। सबैको नजर २३ वर्षीय एमबाप्पे र १७ वर्षीय इंग्ल्यान्डका उत्कृष्ट आक्रामक मिडफिल्डर बेलिङघममा हुनेछ।

दुवै खेलाडीले उत्कृष्ट प्रदर्शनका आधारमा आ–आफ्नो टोलीलाई क्वाटरफाइनलमा पुर्याएका छन्।

फुटबल विज्ञहरूले १७ वर्षीय बेलिङ्घमलाई वर्तमान समयको उत्कृष्ट मिडफिल्डरको रूपमा वर्णन गरेका छन्।

बेलिङघमले सेनेगलविरुद्ध आइतबार राति भएको खेलमा हाफ टाइमअघि जोर्डन हेन्डरसन र ह्यारी केनलाई गोल गर्न पास दिएका थिए।

यस्तो अवस्थामा फ्रान्स र इङ्ल्यान्ड मैदानमा भिड्दा हरेक फुटबल फ्यानको नजर दुई खेलाडी एमबाप्पे र बेलिङघममा हुनेछ। Setopati.com

Leave a Reply